काठमाडौं, चैत । नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् ।
अहिले कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् । नेता पौडेलले भने, गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम कांग्रेसले गर्न हुँदैन ।
उनले भने, ओलीलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्नहुन्न । बरु प्रचण्ड माधवलाई अलिअलि मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ’ बैठकमा पौडेलको भनाइ उधृत गर्दै एक बैठकमा सहभागी केन्द्रीय सदस्यले डेमोखबरसँग भने ।
बैठकमा पौडेलले थपे, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई साथमा राखेर भए पनि ओलीलाई साइजमा राख्नुपर्छ ।’
सोमबारको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा धारणा राखेका थिए भने नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले गठबन्धन गर्न नहुने पक्षमा धारणा राखेका थिए ।
कांग्रेसको बैठक अब मंगलबार दिउँसो ३ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।