काठमाडौं, चैत । स्थानीय तह निर्बाचनको तयारीका बिषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचन नजिकिदै गएकाले सोको तयारीका विषयमा निर्णय लिन बैठक बस्न लागेको नेपाली कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।
बैठकले उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा बैठकमा छलफल हुने पनि जनाइएको छ । विधान व्यवस्था अनुसार, उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्नेछ ।
चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ ।
केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारी पदेन सदस्य हुन्छन् । सभापतिले समावेशिताको आधारमा केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा मनोनीत गर्ने व्यवस्था छ । महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ ।
उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गर्ने अधिकार प्रदेश संसदीय समितिलाई छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला संसदीय समितिले गर्नुपर्दछ । प्रतिनिधि सभा क्षेत्र संसदीय समितिले देशभरका ६ हजार ७४३ वडाका अध्यक्ष र सदस्यको उम्मेवारको निर्णय गर्ने अधिकार विधानले अधिकार दिएको छ ।