२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आइपुग्दै

चिनियाँ सहयोग परियोजना कार्यान्वयनमा छलफल हुने : ' वार्ता शनिबार '

शुक्रवार , चैत्र ११, २०७८

 

काठमाडौं, चैत । शेरबहादुर देउवा नेतृत्व सरकार बनेपछि पहिला पटक चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी आज भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । उनी नेपाल भ्रमणमा परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक निमन्त्रणामा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री खड्का र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ।

भेटवार्ताको क्रममा चीनले अघि सारेको पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत सहयोगका परियोजना कार्यान्वयनका विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् । त्यसैले नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, रसुवागढी र तातोपानी नाका पूर्णरूपमा सन्चालन, २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको बेला भएका सम्झौता कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने तयारी गरेको छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर गर्ने तयारी समेत छ । चीनको राज्य परिषद्का सदस्य समेत रहेका विदेशमन्त्री वाङ यीको औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔं पुरानो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहेका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुन् । उनी यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार