राजविराज, चैत । जनता समाजवादी पार्टीका नेताहरुले आफ्नो पार्टी अब मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित भइरहेको बताएका छन् । जसपा सप्तरीद्वारा राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताहरुले भने , 'कांग्रेस र कम्युनिस्टको नेतृत्वले मुलुकलाई सबै हिसाबले संकटमा पार्ने कार्य गरे ।' उनीहरुले भने, 'अब वैकल्पिक शक्तिको रुपमा जनताले जसपालाई मौका दिनेछन ।'
सो कार्यक्रमका अवसरमा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टहरुले मुलुकको शासनसत्ताको नेतृत्व गर्दै मुलुकमा समस्या मात्र सिर्जना गरेको आरोप लगाए । ‘कांग्रेस र कम्युनिस्टका कारण मुलुक दोधारमा पुग्यो’ अध्यक्ष यादवले भने,‘राष्ट्रिय समस्या हल गर्दै मुलकुलाई समृद्धिको बाटोमा अघि लैजाने जिम्मेवारी अब जसपा नेपालको काँधमा आएको छ ।’
कृषिलाई आधुनिकीकरण नगरेसम्म मुलुकमा विकास सम्भव नरहेको भन्दै यादवले थपे, शिक्षाको स्तरलाई माथि उठाउँदै सहज र प्रभावकारी स्वास्थ्य सेवा, औधोगिकरण र राजनैतिक स्थिरताले मात्र मुलुकबाट अब गरिबी हटाउन सकिन्छ ।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन राजनैतिक दलका लागि युद्ध जस्तै भएकाले चुनावी युद्धमा जनादेशसहित जित्ने लक्ष्य लिएर अगाडि बढ्न आग्रह गरे ।
उनले जसपाकै आन्दोलनका कारण मुलुकमा संघीयता संस्थागत हुँदै गएको भन्दै संविधानमा अझै स्थापित गर्नुपर्ने अधिकारका लागि जसपा नेपालको राष्ट्रिय तहमा नेतृत्व आवश्यकता रहेको बताए ।
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने भन्दै टिकटका लागि गुटबन्दी त्याग्न आग्रह गरे । उनले जसपा नेपाल मुलुकको वैकल्पिक शक्तिको रुपमा अगाडि बढिसकेको दाबी गरे ।
कर्यक्रममा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मुलुकमा संघीयता आए पनि अझै केन्द्रिकृत मानसिकता कायमै रहेको गुनासो गरे। उनले संविधानमा दिइएका हक अधिकार प्रयोग गर्न पनि प्रदेश सरकारलाई बाधा भइरहेको बताए ।
कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यद्वय मनिषकुमार सुमन र नवलकिसोर साह, प्रदेश सभा सदस्य विदेश्वर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवसहित जसपाका केन्द्रीय तथा स्थानीय नेताहरुले बोलेका थिए ।