चितवन, चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई सही दिशामा लैजान कांग्रेस कटिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस र सरकारको ध्यान अहिले निर्वाचनमार्फत देशलाई सही दिशामा लैजान केन्द्रित भएको बताउनुभएको हो ।
महामन्त्री शर्माले सरकारले अहिले जनताको जीवन रक्षाको कामसँगै सदनबाट हुने कामलाई पनि अघि बढाइरहेको बताउँदै जनादेश लिएको (नेकपा एमाले) सरकार चलाउन पनि नसकेको र संसद् पनि चल्न नदिने गरेको आरोप लगाउनुभयो । जनादेशको अपमान गर्दै एमालेले संसद् भङग गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, सरकार पनि चलाउन नसक्ने संसद् पनि चल्न नदिने भनेपछि जनताको जनादेशको अपमान कस्ले गरेको छ ।” फरक प्रसङ्गमा बोल्दै उहाँले केन्द्रीय समितिको बैठकले मात्रै निर्वाचनमा तालमेल हुने नहुने निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिको बैठक बोलाइएको छ ।
बैठकले निर्णय गर्छ । महामन्त्री शर्माले स्थानीय तहको राय सल्लाहाबिना केन्द्रले निर्णय नगर्ने बताउँदै विगतमा भएका कमजोरी र राम्रा कामको समीक्षा गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई उत्तेजनात्मक अभिव्यक्ति दिन भन्दा बिग्रिएको, भत्किएको घर मिलाउन सुझाब दिनुभयो ।
उहाँले भन्नुभयो, पहिला उहाँले आफ्नो घर सम्हाल्ने कसरी भनेर चिन्ता गर्नुपर्छ । अघिल्लो पटकको निर्वाचनमा कांग्रेस एक्लै निर्वाचन लड्दा सबै कम्युनिष्ट एक भएको स्मरण गर्दै यहाँले भन्नुभयो, पहिला उहाँसंग भएका प्रचण्ड, माधव नेपाल, झलनाथ बामदेव कहाँ छन् ।
वास्तविक धरातल यही हो ।” आगामी निर्वाचनमा कांग्रेस देशको ठूलो र बहुमतको पार्टी बन्ने उहाँको दाबी गर्नुभयो ।