काठमाडौं, फागुन । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ ।
१७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्नेलाई बैठकमा बोलाइएको जनाइएको छ ।
निर्बाचन आयोगका अनुसार, दलका प्रतिनिधिलाई स्थानीय तह निर्वाचन तयारीबारे जानकारी गराउने र उनीहरुको अपेक्षाबारे रायसुझाव लिइनेछ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीलाई जानकारी दिदै भने, ‘निर्वाचन घोषणा भएको एक महिनाको अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराइने छ । आयोगसँग दलका अपेक्षाका विषय वस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो,’ ।
आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक ७९ दललाई मान्यता दिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा ८० दलले दर्ताका लागि निवेदन दिएकामा ५७ ले भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व छ ।