काठमाडौं, फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय निर्बाचनमा हार्नुपर्ने दल नेकपा एमाले भएको बताएका छन । उनले भने, दुईपटक संसद विघटन गरेर विसंगति भित्र्याउने मूल दोषी एमाले भएको पनि तर्क अघि सारे ।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले आज, सोमबार, काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा महामन्त्री थापाले भने, ‘संसद पटक पटक विघटन गर्ने एमाले हो, उसले दण्ड पाउनुपर्छ ।’
उनले अघि भने, ‘आफ्नै घरमा आगो लगाउनेलाई किन भोट हाल्ने भनेर तपाईंहरुले जनतालाई भन्नुपर्छ ।’ २०७४ को आम चुनावमा कांग्रेसले सरकार बनाउने म्याण्डेट नपाएको भएपनि तत्कालिन नेकपाको अकर्मण्यताका कारण सरकारको नेतृत्व गर्नुपरेको उनले बताए ।
महामन्त्री थापाले ३० वैशाख २०७९ को चुनाव एक दिन पनि तलमाथि नहुने दाबी गरेका छन् । अर्लि इलेक्सनबारे सत्तारुढ गठबन्धनमा भएको छलफलतर्फ संकेत गर्दै उनले एमालेले संसद चल्नै दिएन के गर्ने भनेर छलफल मात्र सुरु भएको बताए ।
महामन्त्री थापाले भने, ‘एमालेलाई फकाएर ल्याउँछौं कि एमालेले नारा लगाएकै बीचमा कानुन बनाउँछौं । यो दुबै नभए के गर्ने हामीले विकल्प खोजेका छौं ।’