२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसमा नेतात्रयको अवधारणा

नेता गोपालमान श्रेष्ठले भने : ' मलाई वरिष्ठ नेता बनाउनु पर्छ '

सोमवार , फाल्गुण २३, २०७८

काठमाडौं,  फागुन । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेतात्रयको अवधारणा अनुसार आफूलाई वरिष्ठ नेता बनाउनुपर्ने बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “शेरबहादुर देउवा, रामचन्द्र पौडेल र म समकक्षी हौं ।

हाम्रो पार्टीमा पहिलेदेखि नै नेतात्रयको कन्सेप्ट छ । पहिले गणेशमानजी, किसुनजी र गिरिजाबाबु हुनुहुन्थ्यो । अहिले पनि दोस्रो नेता रामचन्द्र पौडेल हुनुभएपछि तेस्रो नेता मै हुँ । उहाँले बनाउँदिनँ भन्नुभएको छैन । म २०१७ सालदेखि सक्रिय भएर पार्टीमा लागेको हुँ । उपसभापति र कार्यवाहक सभापति भइसकेको छु । म वरिष्ठमध्येको वरिष्ठ हुँ । निर्वाचित केन्द्रीय सदस्य पनि हुँ । मलाई वरिष्ठ नेता बनाउँदा केही फरक पर्दैन ।”
उनले आफूलाई वरिष्ठ नेता बनाउन विज्ञप्ति नकिाले पुग्ने पनि बताए । उनले भने, “मैले चौधौं महाधिवेशनमै शेरबहादुरजीको उत्तराधिकारीका रुपमा सभापतिमा उठ्न चाहेको थिएँ । तर उहाँले एक पटक फेरि सहयोग गर्नुपर्यो भन्नुभयो । मैले उहाँलाई ८२ प्रतिशत अर्थात् अत्यधिक बहुमतले जिताएँ । त्यो भनेको संगठन विभागमा रहेर मैले चुस्त दुरुस्त काम गरेको प्रतिफल हो । शेरबहादुरजीले रामचन्द्रजीलाई घोषणा बेगर वरिष्ठ नेता बनाउनुभयो । उहाँलाई बनाएपछि मलाई पनि बनाउनुपर्यो ।”
नेता श्रेष्ठले शेरबहादुर देउवाले आफूलाई तेह्रौं महाधिवेशनमै वरिष्ठ नेता दिने वचन दिएको खुलासा पनि गरे । उनले थपे, “शेरबहादुरजी मेरो मित्र हो, साथी हो, २०२० सालदेखिको । हामीले सँगै जेलनेल खायौं । उहाँले तेह्रौं महाधिवेशनमा विमलेन्द्र निधिलाई उपसभापति बनाउँदा मलाई वरिष्ठ नेता बनाउने वचन दिनुभएको हो । त्यो गर्न सक्नुभएन । पार्टीको वरियताक्रममा मेरो असहमति छ । अहमति जनाइरहेको छु । पदाधिकारी प्रथम, द्वितीय, तृतीय अतिथि बनाएको ठाउँमा गएको छैन । कांग्रेसमा केन्द्रीय सदस्यमध्ये म ज्येष्ठ हुँ । तैपनि शेरबहादुरजीले किन हिम्मत गरिरहनुभएको छैन ? एउटा विज्ञप्ति निकालिदिए पुग्छ ।”
तपाईंलाई वरिष्ठ नेता बनाएपछि शेखर कोइरालालाई पनि बनाउनु पर्ला नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “उपसभापति पूर्णबहादुर खड्काजीले सदासर्वदा मलाई सम्मान गर्नुहुन्छ । अर्का उपसभापति धनराज गुरुङजी मैले नै नेविसंघ बनाएको भाइ हो । पदाधिकारी हुँदैमा वरीयतामा माथि पुग्ने होइन । बीपीको पालामा तुलसी गिरीलाई महामन्त्री भए पनि उहाँको स्थान तल थियो । शेखर कोइराला जितेको भए सभापति नै हुनुहुन्थ्यो । हारेपछि पदेन सदस्य हुनुुहुन्छ । उहाँहरु कसैले अब्जेक्सन गरेको मलाई थाहा छैन ।”
वरिष्ठ नेता नबनाए के गर्नुहुन्छ भन्ने धमलाको प्रश्नमा उनले थपे, “सभापतिजीले व्यवस्थापन गर्छु भन्नुभएको छ । मलाई लाग्छ, सभापतिले दिएको वचन पूरा गर्नुहुन्छ । बनाउनुभएन भने देखा जायगा ।”
एमालेले संसद्लाई बन्धक बनाइराख्ने हो भने अर्ली इलेक्सनमा जानुपर्ने नेता श्रेष्ठले औंल्याए । उनले भने, “सबभन्दा राम्रो त एमालेले संसद् खोल्नुपर्यो । समाधान ननिस्कने एउटै माग राखेर नाराबाजी गरिरहने हो भने अर्ली इलेक्सनमा जानु राम्रो हो । किनभने धेरै कानुन बनाउनु छ । संसद्को काम रोकिएको छ । पछि सर्वोच्च अदालतले जे गर्छ, गर्छ ।”
स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गर्न सकिने पनि उनले बताए । उनले थपे, “गठबन्धन गर्नै हुन्न भन्ने छैन । हामीले २०७४ मा पनि गठबन्धन गर्न चाहेका हौं । तर, हामीसँग कुरा गर्दागर्दै ४० प्रतिशत पाएँ भनेर माओवादी एमालेसँग गयो । तर धोका भयो । पहाडमा अवस्था र स्थान हेरेर माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तालमेल गर्न सकिन्छ । मधेसमा मधेसवादीसँग पनि गर्न सकिन्छ । तर कांग्रेस एक्लै जान पनि सक्षम छ ।”
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अझै पनि आत्मसमीक्षा गरेर मार्गप्रशस्त गर्नु राम्रो हुने कांग्रेस नेता श्रेष्ठको सुझाव छ । उनले भने, “सर्वोच्च अदालत अहिले यति नराम्ररी फस्यो । प्रधानन्यायाधीशले समयमै सोचेको भए यस्तो अवस्था आउँदैनथ्यो । उहाँलाई बार र बेन्चले नमानेपछि मार्गप्रशस्त गरिदिनुपर्थ्र्यो । अझै पनि उहाँलाई रियलाइजेसन गरेर मार्गप्रशस्त गर्ने समय छ ।”

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार