२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्रियसभा सदस्य : ' १९ सदस्यको शपथ ग्रहण आज , २० जना बिदा भए '

शनिवार , फाल्गुण २१, २०७८

 

काठमाडौं, फागुन । नवनिर्बाचित राष्ट्रियसभाका १९ सदस्यको  शपथ ग्रहण आज हुँदैछ । बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन ।
एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का एक सदस्य भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

गोला प्रथाका आधारमा चारवर्षे कार्यकाल पूरा गरेका २० सदस्यको पदावधि हिजो (फागुन २० मा )  समाप्त भएको छ । 

नेकपा एमालेका पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।

यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ ।

माओवादी केन्द्रका दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवरको पनि कार्यकाल सकिएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीको कार्यकाल पनि समाप्त भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार