२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शर्तैशर्तले बेरिएको एमसीसी अस्वीकार्य : खनाल

आइतवार , फाल्गुण १५, २०७८

 

काठमाडौं,  फागुन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् । अमेरिकी सहयोग परियाेजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद खनालले एमसीसीबारे १२/१३ वटासम्म सम्झौता भएको बताए ।

उनले अघि भने, सम्पूर्ण दस्तावेज यो सदनमा नल्याई कसरी छलफल हुनसक्छ । म २७५ जना सांसदलाई आग्रह गर्न चाहन्छौं, तपाई हामी भेडाबाख्रा होइनौं, जनताका प्रतिनिधि हौं । कुनै पनि सम्झौतबारे ए टू जेड हेर्न पाउनुपर्छ, अध्ययन गर्न पाउनुपर्छ । अनि मात्र यो सदनले के गर्ने भन्ने निर्णय गर्नुपर्छ ।

सम्पूर्ण सम्झौताका साथै एमसीएलाई गरेका सम्पूर्ण पत्रचार संसदमा ल्याउन समेत माग गरेका छन् । उनले भने, मान्छेहरुले के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालामा सुरु भएको हो । म यो सदनलाई जानकारी गराउन चाहन्छु, मैले कुनै सहमति गरेको छैन ।

न कुनै सैद्धान्तिक सहमति गरेको छु, न कुनै व्यवहारिक सम्झौता गरेको छु, न कुनै चिठ्ठी पत्र लेखेको छु ।अमेरिकाले दिने सहयोग नलिने भनेर कहिल्यै नभनेको उनले बताए । तर सम्मान र समानताका साथ दिइने सहयोग मात्र लिइने भन्दै खनालले भने, अहिले जस्तो खालको सम्झौता गरिएको छ, त्यास शर्तशर्तले बेरिएको छ । तीन शर्तहरु अमान्य छन् ।

उनले अघि भने, हामीलाई ५० करोड डलर अमान्य भएको होइन, १ खर्ब डलर दिएपनि लिन्छौं । थुप्रै प्रोजेक्टहरु छन् । तर शर्तहरु राखेर, नेपालको स्वाभिमानलाई तल पारेर कुनै सहयोग दिइन्छ भने हामीलाई एक पैसा पनि चाहिँदैन । नेता खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा प्रतिनिधिसभाले गरेको व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भनी प्रश्न गरे ।

एमसीसीमा सुधार गर्ने कुनै पनि घोषणा सम्झौताको अंग बन्छ कि बन्दैन ? अमेरिका तयार छ कि छैन एमसीसी तयार छ कि छैन, छ भने संसदले थाहा पाउनुपर्छ । हाम्रा रिजर्भेसन सम्बोधन गर्न तयार छ भन्ने ग्यारेन्टी यो सदनले चाहेको छ’ नेता खनालले भने ।

यसअघि पनि एमसीसीसँग धेरै पटक सवालजवाफ भएको भन्दै नेता खनालले त्यसमा एमसीसीले जवाफ पठाए पनि त्यसको कुनै वैधानिक धरातल नभएको बताए । यसअघि पनि एमसीसीले सवाल जवाफ गरेको छ । ती जवाफ दिने लिखतको लिगल ग्राउण्ड छैन । त्यसैले हामीले त्यसलाई स्वीकार गरेका छैनौं’ उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार