२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल - भारत ऊर्जा बैठक 

सचिवस्तरीय  बैठक आज :' बिजुली बिक्रीका लागि नेपालले प्रस्ताव राख्दै'

नेपाल विद्युत् प्राधिकरणकाे प्रस्ताव : 'आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने '

बुधवार , फाल्गुण ११, २०७८


काठमाडौं, फागुन । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकहाज, बुधबार, देखि हुँदैछ । 
 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्ष रुपमा हुन नसकेको बैठक यस पटक भौतिक रुपमा नै हुन लागेको हो । विसं २०७६ असोज २७ र २८ मा  संयुक्त निर्देशक समिति बैठक भारतको बैंगलोरमा भएको थियो । 
यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियो । आजदेखि  सुरु हुने यस बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा  हुँदैछ । बैठकमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन् । 
यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले  बैठकमा सहभागिता जनाउने बताइएको छ । 
 आजको बैठकमा सहसचिवस्तरीय समितिले एजेण्डा तय गर्नेछ ।  भोलि, बिहिबार, भने सचिवस्तरीय बैठक हुनेछ । बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । 
नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कुल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो ।
 निर्यातको अवसर नपाउँदा प्राधिकरणले गत मनसुनमा झण्डै रु पाँच अर्ब बराबरको बिजुली खेर गएको बताएको छ । यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ । आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्ने गरी यस पटक प्रयास गरिएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । 
सो प्रसारण लाइन नेपाल र भारतबीच समान लगानीमा निर्माण हुने सम्झौता भइसकेको छ । कुल ४०० केभी क्षमताको सो प्रसारण लाइनको २० किलोमिटर खण्ड नेपाली भूभागमा पर्नेछ भने १२० किलोमिटर खण्ड भारतमा पर्नेछ । विसं २०७६ असोजमा भएको संयुक्त निर्देशक समितिको बैठकले सो प्रसारण लाइन निर्माणमा बारेमा सहमति जुटाएको थियो । 
यस्तै, कटैया कुशाहा १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट, रक्सोल–परवानीपुर प्रसारण लाइन, न्यू नौतनवा मैनिहा १३२ ककेभी प्रसारण लाइनको बारेमा समेत छलफल हुने बताइएको छ । बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ । 
यस्तै, भारतले नेपालसँग मिलेर ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव राखेको छ । समान लगानीमा सरकारी स्वामित्वको कम्पनी खडा गरेर आयोजना निर्माणका लागि प्रस्ताव भारतको तर्फबाट पेश भएको र त्यसमा आवश्यक छलफल हुने बताइएको छ । त्यस्तै, भारतको प्रसारण प्रणाली प्रयोग गरेर बङ्गलादेश विद्युत् निर्यात गर्ने बारेमा समेत दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुने छ । 
विसं २०७६ मा भारतको बैंगलोरमा भएको बैठकमा पहिलो अन्तरदेशीय ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि, भारतीय ग्रीड प्रयोग गरी नेपाल र बंङ्गलादेशबीच विद्युत् आदान प्रदानलगायत नौवटा विषयमा छलफल भएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार