गण्डकी, फागुन । पर्यटकीय नगरी पोखराको व्यस्त बजार सिर्जना चोकमा आकाशे पुल निर्माण सम्पन्न भएको छ । बढ्दो जनसङ्ख्या तथा सवारीसाधनको चाप दृष्टिगत गरी पोखरा महानगरपालिकाले सो पुल निर्माण गरेको हो ।
पूर्व मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्पmत रु ५० हजार रकम विनियोजन गरेसँगै सो आकाशे पुल निर्माण कार्य सुरु गरिएको थियो ।
गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माण गरी सञ्चालनमा आएको पहिलो सो आकाशे पुल पूर्वाधार विकासको रकमसहित कूल दुई करोड १० लाख ३० हजार ७९९ को लागतमा निर्माण सम्पन्न भएको हो ।
एक स्थानबाट आकाशे पुलमा चढेपछि चारैतर्पmबाट ओर्लन सुविधा पुग्ने स्टिल ट्रस, पेडेस्ट्रेन ओभरहेड प्रविधियुक्त सो पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनको माथिल्लो भागका सबै संरचना निर्माणका लागि स्टिल प्रयोग गरिएको छ ।
पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलका आकर्षक फोटो प्रदर्शनले सौदर्यकरण गरिएको उक्त आकाशे पुल पछिल्लो समय यात्रुलाई बाटो काट्न सहज पुग्नुका साथै टिकटक बनाउने र फोटो खिच्नेका लागिसमेत थप आकर्षण बनेको छ ।
महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि निर्माण कम्पनी केएम जेविएनएस पोखरा जेवीसँग सम्झौता भएको थियो ।
सो पुलको निर्माणकार्य २०७७ साउन महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेपनि तोकिएको समय भन्दा केही महिनापछि निर्माण सम्पन्न भएको थियो ।
नवनिर्मित उक्त आकाशे पुलको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आज उद्घाटन गर्दै पुलको उपयोगसँगै संरक्षणमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मुख्य बजारका अन्य चोकमा पनि क्रमिक रुपमा आकाशे पुल निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उपप्रमुख मञ्जुदेवी गुरुङले पाँच वर्षको अवधिमा सीमित स्रोतसाधनका बाबजुद पनि महानगरले जनताका आधारभूत आवश्यकता पूरा गर्दै दीर्घकालीन योजना प्राथमिकताका साथ अघि बढेको बताउनुभयो । रासस