काठमाडौं, माघ । अहिले ठूलो बहसको बिषय बनेको अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सबैखालका भ्रम हट्ने सरकारका प्रवक्त तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन उनले भनेका छन, एमसीसी चाँडै कार्यान्वयनमा आउछ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्री कार्कीले आमसञ्चारलाइ अभिब्यक्ति दिदै यस्तो विश्वास व्यक्त गरेका हुन् ।
अमेरिकाले दिएको टाइमलाइन फेब्रुअरी २८ भित्र एमसीसी पास हुन्छ ? भनी पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री कार्कीले, ‘एमसीसीको विषयमा चलिराखेको बहस, भ्रम र आशंकाहरु छन यो चाँडै नै निवारण भएर कार्यान्वयनमा जान्छ ।’
एमसीसीलाई संसदमा लगेर सकारात्मक निष्कर्षमा पुर्याउने विषयमा तीन शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको उल्लेख गर्दै उनले निचोडमा पुग्न एमसीसीबारे फेरि पनि छलफल हुने बताए ।
उनले गठबन्धनबीच एमसीसीलाई लिएर उठेका आशंका ब्यर्थ रहेको बताउँदै भने, गठबन्धनमा कुनै समस्या नरहेको र रहदैन पनि । एमसीसी पास गर्ने प्रतिवद्धतासहित देउवा र प्रचण्डले हस्ताक्षर गरेको पत्र सार्वजनिक भएकोमा माओवादीले असन्तुष्टि जनाएको छ नि ? भन्ने प्रश्नमा कार्कीले भने, ‘एमसीसीलाई लिएर गठबन्धनमा कुनै समस्या छैन र समस्या रहने छैन ।’