काठमाडौं, माघ । आज प्रधानमन्त्री निबास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता बैठक बिना निष्कर्ष टुंगिएको छ । स्थानीय निर्वाचनको मिति तय गर्ने सन्दर्भमा बसेको ब्रठकले फेरि कानुनविद्हरूसँग परामर्श गर्ने भएको छ ।
गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बेलुका ४ बजे फेरि बस्ने गरी सकियो । स्थानीय निर्वाचनका विषयमा गठबन्धनभित्रका दलहरूबीच मतभेद छ ।
गठबन्धनको समान धारणा बनाउन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेर अमज, शनिबार, गठबन्धनको बैठक राखेका थिए ।आजको बैठकमा भने राष्ट्रिय जनमोर्चाबाहेक चारवटै दलका शीर्ष नेता सहभागी थिए ।
बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचनबारे छलफलको प्रस्ताव राखेको, र त्यही विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिएका छन । ‘प्रधानमन्त्रीज्यूले स्थानीय निर्वाचनबारे छलफल गर्न बैठक बोलाउनुभएको रहेछ, त्यही विषयमा छलफल भयो ।
अहिले निष्कर्षमा पुगेका छैनौँ,’ उनले भने, ‘कानुनविद्हरूसँग थप परामर्श गर्ने र आजै बेलुकी ४ बजे पुनः गठबन्धनको बैठक बस्ने गरी अहिलेको बैठक सकिएको छ ।’
गठबन्धनले यसअघि पनि कानुनविद्सँग परामर्श गरेको थियो । त्यसबेला विज्ञहरुले संविधान र ऐनमा स्थानीय निर्वाचनसम्बन्धी व्यवस्था बाझिएको भन्दै संविधान बमोजिम ऐन संशोधन गरेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । तर, निर्वाचन आयोगले यसअघि नै वैशाखमा निर्वाचन गर्न मिति प्रस्ताव गरिसकेको थियो ।
आयोगको प्रस्ताव विपरीत गठबन्धनले निर्वाचन सार्ने प्रपञ्च रचेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सत्तारुढ गठबन्धनको नेतृत्वमा रहेको दल कांग्रेसभित्रै पनि स्थानीय निर्वाचन सार्न नहुने भन्दै देउवामाथि दबाब छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले समेत देउवासँगको भेटमा लिखित रूपमै स्थानीय निर्वाचन नसार्न आग्रह गरेकी थिइन् । पार्टीभित्रैबाट र चौतर्फी दबाबमा परेका देउवाले शुक्रबार आफू निकटसँग स्थानीय निर्वाचनलाई जेठसम्म भए पनि गर्नुपर्ने र त्यसबारे गठबन्धनमा छलफल गर्ने बताएका थिए ।
संविधानले स्थानीय तहका जनप्रतिनिधिको पदावधिको ५ वर्षको हुने व्यवस्था गरेको छ । तर, ऐनको व्यवस्था बमोजिम आगामी जेठ ५ गते स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछन् । तर, ऐन बमोजिम गर्दा अघिल्लो पटक तीन चरणमा निर्वाचित सबै जनप्रतिनिधिको ५ वर्षे पदावधि पूरा नहुने भन्दै गठबन्धनले संविधानबमोजिम ऐनमा संशोधन गर्ने र चुनावालाई असोज पछिसम्म धकेल्ने प्रयास गरेको थियो ।
स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
आन्तरिक छलफल गरेर फेरि बैठक बस्ने गरी बिहानको बैठक सकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।