२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

युएईले भन्यो : 'अलपत्र नेपालीको समस्या समाधानमा सहयोग गर्छौ'

बिहिवार , माघ १३, २०७८


काठमाडौँ, माघ । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)मा अलपत्र नेपालीका समस्या समाधान गर्न पहल थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूसँग भेटका लागि पुग्नुभएका नेपालका लागि युएईका राजदूत साइद्य हमदान अल नाकीसँग उक्त विषयमा छलफल गरेका थिए । 
मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेको  मन्त्रालयले जनाएको छ ।
अनधिकृतरुपमा मेनपावर कम्पनी, कन्सल्ट्यान्सी, ट्राभल्स सञ्चालक, बिचौलिया  तथा लामो समयदेखि युएइमा विभिन्न व्यवसाय गरेर बसेका नेपालीले नै नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने प्रवृत्ति देखिएको भन्दै मन्त्री श्रेष्ठले उनीहरुलाई कानूनी दायरामा ल्याउन युएई सरकारबाट सहयोगको अपेक्षा गरेका थिए । 
उनले रोजगारी पाउने आशामा भिजिट भिसामा युएई गई अलपत्र परेकाको समस्याको स्थायी समाधान नहुञ्जेल त्यही रोजगारीका अवसरका लागि सहयोग गर्न आग्रह गरेका छन ।  अलपत्र परेका नेपालीको भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानूनीरुपमा बस्नुपर्ने बाध्यता भएकालाई  आममाफीको लागि पनि मन्त्री श्रेष्ठले अनुरोध गरेका थिए । 
 राजदूत साइदले युएई गई समस्यामा परेका नेपालीको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ । उनले नक्कली मागपत्र बनाउने, झुठो आश्वासन र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा लैजाने कार्यमा संलग्न नेपाली वा अन्य देशका नागरिकलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्ने बताएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार