विराटनगर, माघ । प्रदेश राजधानी विराटनगर जोड्ने वैकल्पिक मार्ग मानिएको घिनाघाट–विराटचोक चारलेन सडक विस्तारमध्ये दश किलोमिटरमा कालोपत्रे करिव सम्पन्न भएको छ । तीन प्याकेजमा सम्झौता भई निर्माण भईरहेको सडकमध्ये नेताचोक–मिलनचोक सडक खण्डको दश किलोमिटरको काम ९६ प्रतिशत सम्पन्न भएको हो ।
श्रेष्ठ–रमन–एपेक्स जेभी निर्माण कम्पनीले बिराटचोक–नेता चोक र नेता चोक–मिलन चोकका दुईवटा प्याकेजमा काम गरिरहेको छ । यस खण्डको २० किलोमिटरमध्ये निर्माणाधिन चरणमा रहेको विराट चोक–मिलन चोक सडक खण्डको दश किलोमिटर आगामी बैशाखसम्ममा सम्पन्न हुने दावी गरिएको छ ।
यो खण्डमा तीन किलोमिटर सडक कालोपत्रे भईरहेको श्रेष्ठ कन्ट्रक्सनका साइड इन्जिनियर उज्वनकृष्ण मानन्धरले जानकारी दिएका छन । सडक सीमाभित्र रहेका विद्युत्का पोल सार्न ढिलाई भएका कारण विराटचोक बजार क्षेत्रको काम ढिलाई भइरहेको मानन्धरको भनाई छ । बाँकी क्षेत्रमा ‘स्ट्रक्चर’ को काम पूरा भएकाले कालोपत्रे काम मात्र बाँकी छ ।
मानन्धरका अनुसार भौतिक प्रगति ६० प्रतिशत भएको सो सडक निर्माण सम्झौता ६० करोडमा भएको हो । जसमध्ये ५० प्रतिशत रकम निकासा भएको छ । बाँकी रकम निकास भईहाल्यो भने बैशाखसम्ममा सबै काम सम्पन्न हुनेछ, मानन्धरले भन्ने , नुभयो– आगामी असार मसान्तसम्ममा सबै काम सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार लक्ष्य हासिल हुने अपेक्षा राखेका छौं ।
पुष्पलालचोक–घिनाघाट जोड्ने पुलसहित दुई किलोमिटर सडकको काम लामा–बानिया जेभीसँग सम्झौता भएको छ । ३८ करोड लागतमा पुलसहित दुई किलोमिटर सडक कालोपत्रे गरिनेछ । जसमध्ये सडक ग्राभेलको चरणमा पुगेको र पुलको बेश तयार पारिएकोले असारसम्ममा काम सम्पन्न गर्ने दावी गरिएको छ ।
प्रदेश सरकारको गौरवको आयोजना मानिएको यो सडक प्रादेशिक संरचना बनेपछिको मोरङका लागि पहिलो सडक आयोजना मानिन्छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले यसको नियमन गर्दै आएको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार २२ किलोमिटरमध्ये समग्र भौतिक प्रगति ७० प्रतिशत र वित्तिय भुक्तानी प्रगति ६० प्रतिशत भएको छ । मिलनचोक–विराटचोकको २० किलोमिटर सडक बैशाखसम्ममा र मिलनचोक–घिनाघाट पुलसहितको दुई किलोमिटर सडक असारसम्म सम्पन्न हुने प्रमुख रेड्डीले दावी गरेका छन ।
कोरोना सङ्क्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि गतवर्ष जारी निषेधाज्ञामा पनि विराटनगर घिनाघाट–विराटचोक चारलेन सडक विस्तारको कार्य नरोकिएका कारण तोकिएको म्यादभित्र कार्य सम्पन्न हुने दावी गरिन्छ ।
जम्मा दुरी २२ किलोमिटरमध्ये एकअर्ब २० करोड रुपियाँ लागतमा निर्माणाधिन २० का दुईवटा प्याकेज र पुलसहित दुई किलोमिटरको लामा–बानियाँ प्याकेज ३८ करोडमा निर्माण सम्पन्न गर्ने योजना राखिएको छ ।
‘साइट क्लियर’ समयमै नहुँदा विराटचोक–मिलनचोकको काम ढिलो भए पनि आगामी असारसम्ममा सडकको काम सम्पन्न हुने ठेकेदार कम्पनीको दावी अनुसार पूर्वाधार विकास कार्यालयले सहजीकरण गरिरहेको छ ।
नेताचोक–मिलनचोक खण्डका प्रोजेक्ट मेनेजर भरत कार्कीले कालोपत्रेको काम सम्पन्न भएकोले अब रङ्गरोगन गरेर सडक हस्तान्तरण गरिने बताएका छन । ६० करोडमध्ये अझै छ करोड रुपियाँ भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए ।