जनकपुर, माघ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा आउँदो बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका सूचना अधिकारी कृष्ण राउतले मतदानका लागि आवश्यक मतपत्र छापेर आइसकेको र मतदानमा खटिने कर्मचारीलाई तालिम दिएर परिचालन गरिसकेको जानकारी दिएका छन ।
प्रत्येक बुथमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, चार जना सहायक कर्मचारी र दुई जना कार्यालय सहयोगीलाई परिचालन गरिने तयारी भएको उनले बताए । यस निर्वाचनमा चार किसिमको क्लस्टर (समूह)का आधारमा हरियो र रातो गरी दुई रङको मतपत्र प्रयोग गरिनेछ ।
प्रदेशसभाका सदस्यले हरियो रङ्गको मतपत्रमा मतदान गर्नुहुनेछ भने स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षहरूले रातो रङ्गको मतपत्रमा मतदान गर्ने व्यवस्था मिलाइएको सूचना अधिकारी राउतले जानकारी दिएका छन ।
कोभिड १९ सम्बन्धी केन्द्रीय निर्वाचन कार्यालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालनाका साथ खोप लगाएका मतदातालाई मात्र मतदान गर्न दिइने उनले बताए । यदि कुनै मतदाता कोरोना सङ्क्रमित भेटिएमा मतदानको लागि छुट्टै व्यवस्था गरिएको उनले जानकारी दिए ।
सूचना अधिकारी राउतका अनुसार प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख÷अध्यक्ष तथा उपप्रमख÷उपाध्यक्षका लागि अलग–अलग दुुईवटा बुथ राखिएको मध्ये एउटामा प्रदेश सभाका सदस्यले मतदान गर्ने र अर्काेमा नगरपालिका, गाउँपालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
मधेस प्रदेशमा रिक्त दुई जना राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलबाट पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुरुमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले केही दिनअघि मात्रै मधेस प्रदेशमा गठबन्धनको घोषणा गरेका छन् ।
प्रदेशमा महिलातर्फ नेकपा माओवादी केन्द्रका उर्मिला अर्याल, लोकतान्त्रिक समाजवादी पार्टीका रूपाकुमारी यादव र नेकपा एमालेका बिनादेवी साहले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै अन्यतर्फ जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी र नेकपा एमालेका उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा एमाले र लोसपाबीच गठबन्धन भएसँगै अब मधेस प्रदेशमा चार जना उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुुनेछ । महिलातर्फ उम्मेदवारी दिएकी नेकपा एमालेका बिनादेवी साहले लोसपाका रूपा यादवलाई समर्थन गर्ने र लोसपाले अन्यतर्फका एमालेका उस्मान अन्सारीलाई सहयोग गर्ने सहमति भएको छ ।
प्रदेश सरकारका प्रमुख सत्तारूढ पार्टी जसपाको मतभार १९८८ छ भने सत्तारूढ काँग्रेसको २३७०, नेकपा माओवादी केन्द्रको ११९४ र नेकपा एकीकृत समाजवादीको ७५० मतभार छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको १५६० र नेकपा एमालेको ९४२ मतभार मात्र छन् । मतभारले सत्तारूढ दलकै वर्चस्व कायम रहने अनुमान गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्रनारायण निधि भवनमा आउँदो १२ गते बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रिय सभा निर्वाचनमा १०४ जना प्रदेश सभा सदस्य, आठवटै जिल्लाका स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षसमेत गरी ३७२ मतदाताले मतदान गर्नेछन् ।
राष्ट्रिय सभाका सदस्यहरू सुमनराज प्याकुरेल र शशिकला दाहालको पदावधि सकिएपछि ती दुई सदस्यका लागि मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचन हुने लागेको हो ।