२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कर्णाली : सडकमा मास्क लगाउन सिकाउँदै मुख्यमन्त्री 

शनिवार , माघ ८, २०७८


सुर्खेत, माघ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा कोरोनाको जोखिम बढ्दै जाँदा मास्क लगाउन अटेरी गर्नेहरूलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले आफैँ सडकमा हिँडेर मास्क लगाउन सिकाएका छन ।  शनिबार मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा ‘तपाईँको मास्क खोइ ?’ अभियानको सुरुवात गर्दै मास्क लगाउन सिकाएका हुन ।  
उनले कोरोनाको तेस्रो लहरको सङ्क्रमण बढ्दै गएको बेला मास्कले रोग नियन्त्रणमा सघाउने भएकाले ‘मास्क खोइ’ अभियान सुरु गरिएको बताए ।  उनले सर्वसाधारणलाई सानो हेलचेक्र्याइँ पनि नगर्न सुझाव दिँदै घरबाहिर काममा निस्कँदा अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरे ।  मुख्यमन्त्री शाहीले मास्क नलगाएकालाई मास्क लगाउन आग्रह गर्दै खोप लगाए, नलगाएकोबारे पनि सोधपुछ गरेका थिए । उनले यदि खोप नलगाएको भए नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि सर्वसाधारणलाई निर्देशन दिएका छन ।  
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पछिल्लो समय सुर्खेतमा कोरोना सङ्क्रमित बढ्दै गएको बताए ।  उनले शुक्रबारसम्म सुर्खेतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० नाघिसकेको जानकारी दिँदै कसैलाई पनि लापरबाही नगर्न सुझाव दिए ।  घरबाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउन, साबुनपानीले हात धुन, भीडभाडमा नजान, सेनिटाइजर प्रयोग गर्न आग्रह गर्दै उहाँले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरेर कोरोना सङ्क्रमणको जोखिमलाई कम गराउन जोड दिएका छन ।  उनले मास्क प्रयोगबारे भीडभाड हुने ठाउँको अनुगमनसमेत भइरहेको जानकारी दिए ।  आइतबारदेखि मास्क नलगाएको पाइएमा जरिवाना तिराइने उनको भनाइ छ । 
कार्यक्रममा प्रहरी प्रमुख एसपी पदमबहादुर विष्ट, जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्ले, जिल्ला समन्वय प्रमुख छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीसहितले वीरेन्द्रनगर बजारमा मास्क नलगाई हिँड्ने सर्वसाधारणलाई मास्क लगाउन सिकाउँदै हिँडेका थिए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार