जनकपुरधाम, माघ । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई मार्ने खालको कुनै अभिव्यक्ति नदिएको बताएका छन ।
जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री यादवले, बलिदानी दिवसको अवसरमा गौरको कार्यक्रममा सङ्घीयमन्त्री यादवले दिएको अभिव्यक्तिप्रति चौतर्फी आलोचना हुन थालेपछि राज्यमन्त्री यादवले डा. राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई हिंसात्मक कार्य नगर्न सुझाव मात्र दिएको दाबी गरेका छन ।
पत्रकारहरूसँगको कुराकानीमा राज्यमन्त्री यादवले जनमतका कार्यकर्ताले कार्यक्रम स्थलसम्म जाने बाटो अवरोधका साथै भौतिक क्षतिसमेत गर्दा पनि आफूहरू पन्छिएर अर्को बाटोबाट गएको तर हिंसात्मक कुनै कार्य नगरी कार्यक्रम स्थलसम्म पुगेको बताउँदै मन्त्री यादवलाई बदनाम गर्न यस्ता अभिव्यक्ति प्रस्तुत भएको प्रति आपत्ति व्यक्त गरेका छन ।
राज्यमन्त्री यादवले किसान आन्दोलनको नाममा जनमत पार्टीले गैरलोकतान्त्रिक र अराजक गतिविधि गरिरहेको भन्दै किसानको नाममा राजनीति गर्न खोजेको बताए । गौर क्रान्तिकारी भूमि भएको र यसरी हिंसात्मक गतिविधि गर्दा त्यस्तै घटना दोहोरिन सक्ने भएकाले त्यस्तो गैरलोकतान्त्रिक र अराजक गतिविधि नगर्न मन्त्री यादवले चेतावनी मात्र दिएको राज्यमन्त्री यादवको भनाइ थियो ।