२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'राजनीतिले बाटो बिराएको छ' : उपसभापति गुरुङ

शनिवार , माघ १, २०७८

भैरहवा, माघ  । राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गर्नुभएको छ । भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भन्नुभयो, नेपाली राजनीतिले बाटो बिराएको छ । नेतृत्वले त्याग गर्न नसक्दा बारम्बार समस्या सिर्जना हुने गरेको छ ।

यो चिन्ताको विषय हो । उहाँले बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउन आफूहरू लागिरहेका बताउनुभयो । प्रष्ट विचार र सहीलाई सही, गलतलाई गलत भन्नेहरूलाई हरेक राजनीतिक पार्टीमा पाखा लगाउने काम भएको भन्दै दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, मैले पनि बल्लबल्ल दुई मतले कांग्रेस उपसभापति जितँे ।

मेरो राजनीतिक तथा व्यक्तिगत जीवनमा जीतहारले खासै अर्थ नराख्ला तर म उपसभापति नजितेको भए तपाईँहरूजस्ता सङ्घसंस्थाले पनि मलाई बोलाउनुहुन्न । समाजिक सङ्घसंस्थाले पनि पदलाई महत्व दिन थाल्नुभएको छ । यहीबाट राजनीति बिग्रिन सुरु भएको हो । उहाँले भ्रष्ट भनेर चिनिएकालाई बहिष्कार गर्न पनि आग्रह गर्नुभयो ।

गुरुङले भन्नुभयो, भ्रष्टाचारी न दलको हुन्छ, न त देशको । ऊ जुनसुकै तहमा वा पार्टीको भए पनि भ्रष्टाचारी नै हो । अख्तियारले दोषी देखाएमात्रै भ्रष्टाचारी भन्ने होइन, कुनै पनि मान्छेको हैसियत अस्वाभाविकरूपमा वृद्धि हुन्छ भने त्यसतर्फ आम नागरिकले खोजीनीति गर्नुपर्छ ।

कार्यक्रममा नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष अनिलबहादुर शाहीले जेसिजमार्फत देशैभर नेतृत्व विकास र मानवीय सेवामा खेलेको भूमिकाको चर्चा गर्नुभयो । सो अवसरमा निर्वाचन आयुक्तसमेत रहनुभएका पूर्वअध्यक्ष ओमकुमार श्रेष्ठले जेसिज विधि र विधानमा हिँडेमा समस्या नहुने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थनगर पालिका उपप्रमुख उमा काफ्ले, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायत विभिन्न सङ्घसंस्थाका प्रमुखले समेत मन्तव्य राख्दै जेसिजमार्फत भएका मानवीय कार्यको प्रशंसा गरेका थिए ।

सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहबाट गोपाल ज्ञवालीले कमल जिसीलाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ । कोरोनाको समयमा देशैभरका जेसिजका शाखामध्ये उत्कृष्ट काम गरेको भन्दै सिद्धार्थ जेसिजले सम्मानसमेत प्राप्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार