२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अन्तरघातलाई प्रश्रय दिनु हुँदैन : वरिष्ठ नेता पौडेल

बुधवार , पौष २८, २०७८

दमौली, पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताउनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन , उहाँले भन्नुभयो, कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।” वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भन्नुभयो, केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।

वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई लगायतले कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति श्याम मौरातीले पदस्थापन गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार