२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

महोत्तरी काँग्रेस : जिल्ला अधिवेशनबाट वञ्चित नगराउन माग

मंगलवार , पौष २०, २०७८


जलेश्वर, पुस  । नेपाली काँग्रेस महोत्तरीको क्षेत्र नं. ३ मा अझै पनि निर्वाचन नभएको भन्दै सो क्षेत्रका नेताहरूले जिल्ला अधिवेशनबाट वञ्चित नगराउन नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समिति समक्ष माग गरेको छ ।
यही पुस २७ गते नेपाली काँग्रेसको जिल्ला अधिवेशनसँगै उम्मेदवारीको सरगर्मी पनि बढेको छ । तर महोत्तरी क्षेत्र न. ३ को स्थगित निर्वाचनबारे कुनै टुङ्गो नलागेपछि यस क्षेत्रका नेताहरूले जिल्ला अधिवेशनमा आफूहरूलाई वञ्चित नगराउन माग गरेका हुन् ।
यस क्षेत्रका निवर्तमान महासमिति सदस्य तथा जिल्ला सभापतिका आकाङ्क्षी समेत रहनुभएका बजरङ्ग नेपालीले सोमबार एक विज्ञप्ति जारी गर्दै षड्यन्त्रमूलक ढङ्गले जिल्ला अधिवेशनमा वञ्चित गराउने प्रयास भएमा मान्य नहुने बताउनुहँुदै त्यसो गरिए आफूहरू भोकहड्तालमा उत्रने चेतावनी दिएका छन । 
उनले सबैसँग यस क्षेत्रको निर्वाचन तत्काल गराउन मागसमेत गरेका छन । उनले संसदीय क्षेत्र नं. ३ को निर्वाचन प्रक्रिया अगाडि नबढाई जिल्ला अधिवेशनबाट वञ्चित गराउने प्रयास भएमा पुस २१ गते नेपाली काँग्रेसको पार्टी कार्यालय महोत्तरीमा भोक हड्ताल गर्ने विज्ञप्तिमार्फत जानकारी दिएका छन । 
गत मङ्सिर १५ गते सहमतिमार्फत क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन गर्ने नेताहरू सहमत भए पनि एक पक्षले जबरजस्ती मतदान अधिकृतको हस्ताक्षर गराई अधिवेशन गरेको भन्दै मतदान अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएपछि निर्वाचन स्थगन भएको थियो । 
मतदान अधिकृत धीरेन्द्र मण्डलले विज्ञप्ति जारी गर्दै एक समूहले जनकपुरधाम वडा नम्बर ८ मा रहेको घरबाट अपहरण गरेर आफू खुसी अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै सो प्रमाणपत्र रद्द गर्दै राजीनामा दिएपछि क्षेत्रीय अधिवेशन अन्योलमा परेको थियो । 
त्यसपछि केन्द्रीय निर्वाचन समितिले क्षेत्र ३ को निर्वाचन गराउने जिम्मेवारी हेमबहादुर कार्कीलाई दिएको थियो तर कार्कीले विवाद गहिरिँदै गएको देखेपछि आफू शारीरिक रूपमा अस्वस्थ भएको भन्दै निर्वाचन नगराई राजीनामा दिएपछि सो क्षेत्रमा अहिलेसम्म निर्वाचन हुन सकेको छैन । प्रदेश २ को अधिवेशन तथा केन्द्रीय अधिवेशनमा यो क्षेत्रले आफ्नो सहभागिता गराउन सकेको थिएन । 
यसैबीच नेपाली काँग्रेस महोत्तरीका कार्यवाहक सभापति शम्भुनारायण पाठकले जिल्ला अधिवेशनमा कुनै पनि क्षेत्रलाई वञ्चित नगराउनका लागि निर्वाचन समितिलाई पत्राचार गरेका छन ।  उनले जिल्लाको क्षेत्र नं. ३ को स्थगन भएको निर्वाचनलाई पुस २७ अगावै पिपरामा गर्न निर्वाचन समितिलाई आग्रह गरेका छन ।  
चारवटा क्षेत्र रहेको महोत्तरीमा क्षेत्र नम्बर १ मा महेश झा, क्षेत्र नम्बर २ मा राजकरण साह र क्षेत्र नम्बर ४ मा उत्तिम यादव सर्वसम्मत चयन भइसक्नुभएको छ । 
यता जिल्ला अधिवेशनका लागि संस्थापन पक्षबाट जिल्ला सभापतिमा सुशील यादव र सचिवमा जयकुमार चौधरीलाई अगाडि सारिएको छ भने अन्य उम्मेदवारहरूमा नागेश्वर यादव र बजरङ्ग नेपाली रहनुभएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार