पर्सा, पुस । नयाँ वर्ष मनाउन ठूलो सङ्ख्यामा भारतीय नागरिक पर्यटन क्षेत्रको अवलोकन गर्न नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार वीरगञ्ज नाकाबाट निजी तथा भाडाका सवारी साधन प्रयोग गरी पुस ११ गतेदेखि १८ गतेसम्ममा अस्थायी पैठारी भन्सार महसुल बुझाएर साना र ठूला गरी तीन हजार ५९१ वटा र नजिकको बजारसम्म पुगेर सोही दिन फर्किने गरी सुविधा पासमा एक हजार ३८६ वटा गाडीमा भारतीय पर्यटक भित्रिएका छन् । त्यसमध्ये डिसेम्बर ३१ मा एक हजार एक र जनवरी १ मा एक हजार ३६६ सवारी साधनले प्रवेश पाएका छन् ।
भारतीय पर्यटकले आफ्नो रुचि अनुसार पोखरा, चितवनको सौराहा, मकवानपुरको शहीद पार्क त्रिखडी चुरिया, रौतहटको नुनथर बागमती, बाराको गढीमाई, पर्साको ठोरी, पर्सा वन्यजन्तु आरक्षलगायतका पर्यटनका ठाउँमा पुगेर पारिवारिक माहोलमा नयाँ वर्ष मनाएका छन् ।
सबैभन्दा बढी भारत विहारबाट नयाँ वर्ष मनाउन आएको होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हरि पन्तले बताए । कोरोना महामारीका कारण दुई वर्षदेखि नयाँ वर्ष मनाउन नपाएका र भारतको विहार प्रदेशमा मदिराको सेवनमा प्रतिबन्ध रहेकोले ठूलो सङ्ख्यामा भारतीय पर्यटकहरू भित्रिएको उनले बताए ।
“यसरी भारतीय पर्यटक नेपाल भित्रिँदा थला पर्दै गएको होटल तथा पर्यटन व्यवसायमा केही राहत भएको छ” उनले भने ।
वीरगञ्ज नाकास्थित ईनर्वा प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक हीरा बुढाथोकीले नयाँ वर्ष मनाउन ठूलो सङ्ख्यामा भित्रिएका भारतीय पर्यटकहरूलाई राति अबेरसम्म आवागमनको व्यवस्था गरिएको बताएका छन ।