२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

मुख्यमन्त्री राउतले दिए खोप बढाउन निर्देशन 

आइतवार , पौष १८, २०७८


जनकपुरधाम, पुस  । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन ।  कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अभिवृद्धिका लागि प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रम तथा प्रदेश निर्देशक समितिको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो निर्देशन दिए  । 
पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिई सक्ने राष्ट्रिय लक्ष्यलाई पूरा गर्न प्रदेशभित्र युद्ध स्तरमा खोप कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिएका छन ।  
कोभिड–१९ को महामारीलाई नियन्त्रणमा लिन प्रदेशमा स्वास्थ्यकर्मीले गरेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले खोप अभियान सफल हुने विश्वास व्यक्त गरेका छन ।  
प्रदेशमा खोप पर्याप्त मात्रामा रहेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले फागुन मसान्तभित्रै शतप्रतिशतलाई खोप लगाउने योजनासहित अघि बढ्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए ।  
उनले भने, “हामीसँग खोपको अभाव छैन, स्थानीय सञ्चार माध्यमहरूबाट प्रचार प्रसारलाई तीव्रता दिनुस् । जनशक्तिको अभाव भए खोपलाई लक्षित गर्दै दक्ष जनशक्ति भर्ना गराँै । सर्वसाधारणको भीडभाड हुने स्थानमा अतिरिक्त खोप केन्द्र सञ्चालन गरौँ” उनले भने ।  
कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह, अर्थमन्त्री शैलेन्द्र साह, प्रमुख सचिव हरिप्रसाद मैनाली, जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, सङ्घीय स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, मुख्य न्यायाधिवक्ता दस्पेन्द्र झा, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिव, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षाका निकायका प्रदेश प्रमुखहरू, आठै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरू, संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखसहितको उपस्थिति रहेको थियो । 
कार्यक्रममा प्रदेशमा खोप कार्यक्रमको अवस्थाका बारेमा प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा तथा सङ्घीय खोप समन्वय शाखाका सागर दाहालले जानकारी दिएका छन ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार