विराटनगर, पुस । विराटनगरस्थित कोसी अस्पताललाई आइतबार एक सामाजिक संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन भाइरस फैलिरहेको बेला सम्भावित महामारीविरुद्ध उपयोगी हुनसक्ने भन्दै लुथरन सामुदायिक कल्याण समाज रंगेलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
समाजले बालबालिकाका लागि प्रयोग हुने भेन्टिलेरसहित विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । अस्पताललाई ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
लुथरन सामुदायिक कल्याण समाजले जुटाएको स्वास्थ्य सामग्री मोरङ क्षेत्र नम्बर २ का सांसद तथा पूर्व रक्षामन्त्री डा. मिनेन्द्र रिजालले हस्तान्तरण गरेका छन ।
समाजले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथि रिजालले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादवलाई सामग्री हस्तान्तरण गरेका छन ।
कार्यक्रममा नेता रिजालले धर्म र सम्प्रदायभन्दा माथि उठेर मानवीय सेवाको क्षेत्रमा गरिएको सहयोगको सराहना गरे । उनले यस प्रकारको कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन । लुथरनले मोरङको क्षेत्र नम्बर २, ५ र झापाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको छ ।
कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवले महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटरसहितको सामग्री दिएर आम सर्वसाधारणको उपचार सहज बनाइदिएकोमा आभार व्यक्त गरे ।