चरीकोट, पुस । दोलखा प्राकृतिक, ऐतिहासिक र धार्मिक हिसाबले भरिपूर्ण भए तापनि सरोकारवाला निकायको चासो नहुँदा र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । यहाँ प्राकृतिक मनोरमता त छँदैछ, कालिञ्चोक भगवती, हनुमन्तेश्वर महादेव, सैलुङगेश्वर मन्दिर जस्ता चारैतिर देवी देवताले घेरेको पर्यटकीयस्थल छन् ।
यस्तै रोल्वालिङ हिमशृङ्खलामा पर्ने अहिलेसम्म पत्ता लागेका सातहजार १३४ मिटर उचाइको गौरीशङकर हिमालदेखि ¥यामडङ पाँच हजार ९२५ उचाइसम्ममा रहेका १५ वटा हिमशिखर रहेका छन् ।
दोलखामा पर्यटकीय क्षेत्रको विकास गर्न पहिलो पटक छ हजार ७५५ उचाइको काङनागचुगी, छ हजार चारसय उचाइको बामिङगो, छ हजार २५७ उचाइको चेबिगो र छ हजार २४९ उचाइको डिङजङरी नामक चार वटा चुचुरामा आरोहण गर्न नेपाल सरकारले खुला गरिसकेको छ । तर पर्यटक भित्र्याउने पहल कोही कतैबाट भएको देखिँदैन ।
त्यस्तै, नुम्बुर छ हजार ९५९, टेन्सी पासी ताउ छ हजार ९४३, ड्रयाङ्नागरी छ हजार ८०१, ट्रागकारगो छ हजार ७९३, खाटाङ छ हजार ७८२, चोबुजे छ हजार ६८५, कारीओलुङ्छ हजार ५११, पचैमुचे छ हजार १८७ र काबान्डे छ हजार ११ मिटर उचाइका हिम चुचुराहरुको नाम पत्ता लागेको छ । अरु कत्ति छन् भने खोजी हुन सकिरहेको छैन ।
दोलखा काठमाडौँभन्दा पनि पुरानो हो, खोज अनुसन्धान हुनुपर्छ भन्दै लामो समयदेखि लाग्नु हुने भीमेश्वर नगरपालिका–२ का शान्तकृष्ण श्रेष्ठले भन्नुभयो, गौरीशङकरलाई हामीले हिमालको रुपमा मात्रै लिने गर्दछौँ तर अहिले गौरीशङ्कर हिमाल मात्रै नभई कैलाश पर्वतको रुपमा पनि व्याख्या हुन थालेको छ ।
नेपालमा जति पनि हिमशिखर छन्, सबैको आ–आफ्नै नाम छन् । दोलखास्थित गौरीशङकर हिमाललाई आदि देवादिदेव गौरीशङ्करको रुपमा गौरीशङकर हिमालय कैलाशको रुपमा नामाकरण गरेको ठहरिन्छ ।
यसैको छेमा रहेको च्छो–रोल्पा हिमताललाई पनि मानसरोवरको रुपमा हेरिन्छ र सुमेरु पर्वत पनि नजिकै रहेको छ । नेपालको प्रमाणिक समयको मापन विन्दु गौरीशङकर हिमाललाई कैलाशको रुपमा हामीले पहिचान गर्न ढिला ग¥यौँ ।
सुदुरपश्चिम सिंजाका खस सम्प्रदायले आफ्नो महत्वपूर्ण सांस्कृतिक पर्व ‘गौरा पर्व’ को इष्टदेवताको रुपमा गौरीशङकरलाई मान्दछन् । यति मात्रै पनि होइन, नेपालको प्रमाणिक समयको मापन विन्दु पनि त हो नि ।
यही गौरीशङकरको काखमा अनेक अमृतरुपी जडिबुटी पाइन्छन् । रामायणकालीन युद्धमा लक्ष्मण मुर्छा पर्दा हनुमानले यहीँबाट सञ्जीवनी पर्वत लगेको तथ्य छ । हनुमानले चारैतिर अवलोकन गरेको ठाउँलाई हामीले अहिले हनुमन्ते डाँडा भन्ने गरिन्छ ।
गौरीशङकर हिमालको सन्मुख सुनखानीको पहरामा बसी श्रृङ्गऋषिले तपस्या गरेको प्रमाण छन् । यस सम्बन्धमा ‘गन्तव्यदेखि गन्तव्य रामायण सर्किट’ मा विस्तृत लेखिएको उनले बताए ।
बिगु गाउँपालिका–४ मा स्वस्थानी व्रतकथामा बर्णित महादेवले रचेर पार्वतीलाई हाम्रो घर हो भनेर देखाएको फुसको घर हाल देउलाङ्गेश्वर मन्दिर पनि छँदैछ ।