हेटौँडा, पुस । मकवानपुरका विकट राक्सिराङ गाउँपालिकामा बसोबास गर्दै आएका चेपाङ समुदायको जीवनस्तरमा सुधार ल्याउन चेपाङ, चिउरी, चमेरो, मौरीपालन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सिमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङका चेपाङ समुदायको आर्थिक तथा सामाजिक रुपमा जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले चालू आर्थिक वर्षमा लागत सहभागिताका आधारमा चेपाङ, चिउरी, चमेरो, मौरीपालन तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो ।
सङ्घीय सरकारको आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत कार्यक्रम तथा सङ्घीय सरकारबाट हस्तान्तण भएको विशेष अनुदानमार्फत चेपाङ समुदायको जीवनस्तरमा सुधार कार्यक्रम सञ्चालन गरिने छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले लाभग्राही समुदायको २० प्रतिशत र सरकारको ८० प्रतिशत लागत सहभागितामा आधार आर्थिक तथा सामाजिक रुपान्तरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन ।
कार्यक्रमका लागि सङ्घीय सरकारले विनियोजन गरी पालिकामा पठाएको ८३ लाख र लाभग्राही समुदायको लागत सहभागिता गरी झण्डै एक करोड चार लाख रुपियाँ बराबरको चेपाङ, चिउरी, चमेरो, मौरीपालन तथा जीवनस्तर सुधार कार्यक्रम बन्ने भएको छ ।
लाभग्राही समुहको कार्यक्रमको आधारमा १८ देखि २० लाख रुपियाँसम्म लागत सहभागितामा आधारमा चेपाङ समुदायको जीवनस्तर सुधार कार्यक्रमका लागि दिन सकिने बताउँदै प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले आएका प्रस्ताव हरेर सामाजिक समितिले निर्णय गरी लगानी गरिने बताए ।
उनले भने, चेपाङ समुदायको सम्बन्ध र आर्थिक जीवन चमेरो, चिउरी र मौरीपालनसँग जोडिएकोले कार्यक्रमको नामाकरण चेपाङ, चिउरी, चमेरो, मौरीपालन तथा जीवनस्तर सुधार कार्यक्रम गरिएको हो ।
पालिकाले कार्यक्रमका लागि प्रस्ताव दिने संस्थाले यसअघि चेपाङ, चिउरी र मौरीपालनको क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । यसअघि पालिकामा सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा कार्यक्रम रहेको थियो ।