काठमाडौँ, पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताएका छन्। अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरा समेत औंल्याए ।
स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको दावी गरे।
अध्यक्ष लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्न समेत राजसंस्था अनिवार्य रहेको तर्क गरे। उनले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको पनि बताए। उनले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गरे।
अध्यक्ष लिङदेनले भने, म केटाकेटी नै थिए , २०३२ सालतिर होला। जब सिक्किममा राजसंस्थाको अन्त्य भयो। जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा विलाई दिए।
ओहो, राजा भएन भने त देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा पर्यो। राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो। अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढि देशभक्त हुन्छन भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको बताए।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे। उनले स्वर्गीय राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए।