'हामी अदक्ष कामदारहरु पठाइरहेका छौं । दक्ष कामदार पठायो भने उनीहरुको ज्याला पनि बढ्थ्यो '
काठमाडौँ, पुस । परराष्ट्रमन्त्री नारायण खड्काले नेपाली युवाहरुले वैदेशिक रोजगारीका क्रममा भोगेका समस्या र चुनौती देख्दा रोदनको अवस्था सिर्जना हुने बताएका छन ।
कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको कान्तिपुर रेमिट एन्ड माइग्रेसन समिट २०२१ को उद्घाटन सत्रमा बोल्दै उनले वैदेशिक रोजगारीमा चुनौतीका चाङ रहेको बताएका हुन ।
वैदेशिक कामदारका समस्या देख्दा रोदनको अवस्था सिर्जना हुन्छ । उनीहरुले नारकिय जीवन बाँचिरहेका छन । उनीहरुले गरेको कमाई बिचौलियाहरुले खान्छन । महिला कामदारका भोगिरहेका समस्या अझ कहालीलाग्दा छन । उनले भने, सरकारको पक्षबाट हेर्दा थुप्रै चुनौती छन ।
केही महत्त्वपूर्ण सुधार गर्नुपर्ने देखिएको छ कामदारहरु असुरक्षित रुपमा जाने गरेकाले यसबारे पनि सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । बढी काम गराउने, एउटा काम भनेर अर्कै काम लगाउने, ओभरटाइम गरेको कामको पैसा नदिने जस्ता यावत समस्याहरु छन।
कामदारहरुले आफूलाई सुरक्षित महसुस गर्न सकेका छैनन, उनले भने। वैदेशिक रोजगारीका विषयमा सरकारले स्पष्ट नीति तथा अनुगमनका काम प्रभावकारी रुपमा गर्न नसेकेको पनि उनले स्वीकारे । ‘लागत, सुरक्षा, सीपलगायतका विभिन्न विषयमा सरकार आफै स्पष्ट हुनुपर्ने हो ।
तर त्यसो हुन सकेको छैन,’ उनले भने, ‘यहाँ अनियमितता छ । श्रमिकहरुले विभिन्न शीर्षकमा पैसा तिर्नु परिरहेको छ । फ्रि भिषा फ्रि टिकट प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।’
अनुगमन र मूल्यांकनको काम प्रभावकारी हुन नसकेको र म्यानपावरहरुले अवैध रुपमा पैसा उठाइरहेको पनि उनले बताए । त्यस्तै, दक्ष जनशक्ति नेपाल फर्किसकेपछि उनीहरुलाई स्वरोजगारमा कसरी आवद्ध गर्ने भन्ने पनि अर्को चुनौती रहेको बताए ।
वैदेशिक रोजगारीमा जाने कामदारहरु दक्ष नहुँदा उनीहरुले निकै कम ज्याला पाइरेका छन । ‘हामी अदक्ष कामदारहरु पठाइरहेका छौं । दक्ष कामदार पठायो भने उनीहरुको ज्याला पनि बढ्थ्यो । तर हामीले दक्ष जनशक्ति पठाउन सकेका छैनौं,’ परराष्ट्रमन्त्री खड्काले भने।