२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी महाधिवेशन : राजपा अध्यक्ष यादवले भने : 'बेपत्ता पारिएका परिवारले न्याय पाउन '

आइतवार , पौष ११, २०७८

 

'सबै जनताको संविधानको रुपमा परिणत गर्नुपर्ने आवश्यकता छ,  संविधानको संशोधन अहिलेको अत्यन्तै आवश्यक कार्य हो ।'

काठमाडौँ, पुस । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी आन्दोलन र १० वर्षे युद्वताका बेपत्ता पारिएका व्यक्तिका परिवारले अब न्याय पाउनुपर्ने बताएका छन ।

हामीले ठूल्ठुला क्रान्तिको नेतृत्व गर्यौं, आन्दोलन र परिवर्तनहरूपछि कम्युनिष्ट नेताहरूको नेतृत्वमा सरकारहरू बनेका छन। माधवजी, प्रचण्डजी पनि प्रधानमन्त्री बन्नुभयो । तर अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र छ, यादवले भने, जनयुद्धताका बेपत्ता पारिएका परिवारले अहिलेसम्म पनि न्याय पाएका छैनन्, उनीहरूले न्याय पाऊन ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले माओवादी केन्द्रको महाधिवेशनले उत्पीडित शोषित वर्गको अधिकार, पहिचान र समावेशिताको मुद्दालाई सम्बोधन गर्न सक्नुपर्ने बताए ।

वास्तवमा हाम्रो मुलुकमा वर्ग विभेद र वर्ण विभेद पनि छ, वर्ग विभेद शोषित वर्गको मुक्तिका लागि, वर्ण विभेद उत्पीडित जातजाति र राष्ट्रियताहरू, मधेसी, आदिवासी जनजाति, दलित लगायत जातजातिहरूको मुक्तिका सवालहरू कम्युनिष्ट आन्दोलनसँग जोडिएर आएका सवालहरू अहिले पनि अलपत्र परेका छन्, यी राष्ट्रिय सवालहरूलाई सम्बोधन नगरिकन राष्ट्रिय एकता पनि स‌ंभव हुदैन, र मुलुकको आर्थिक विकास र समृद्धि पनि संभव हुँदैन,’ उनले भने, ‘उत्पीडित शोषित वर्गको अधिकार, पहिचान र समावेशितालाई सम्बोधन गर्नका लागि यो महाधिवेशनले ठोस् दिशा दिन सकोस् ।

उनले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरु अझै पनि धरापमा रहेको आशंका व्यक्त गरे । अध्यक्ष यादवले विगतका प्रधानमन्त्रीहरूले गरेको गल्तीलाई गनेर मात्रै समस्याको समाधान नहुने बताए ।

‘हामीले संविधानका कुरा गर्छौं, संविधान जारी हुँदाका बखत देशको आधाभन्दा ठूलो भूभागका जनताले कालो दिनको रुपमा मनाएका थिए, केहीले बत्ती पनि बाले ।

तर अब यो संविधानलाई बत्ती बाल्नेको मात्रै होइन, जसले कालो दिनको रुपमा मनाएका थिए, ती सबै जनताको संविधानको रुपमा परिणत गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यो संविधानको संशोधन अहिलेको अत्यन्तै आवश्यक कार्य भएको छ ।’

अध्यक्ष यादवले अब संसदलाई अवरुद्ध गरेर केही पनि प्राप्त नहुने बताए । ‘संसदलाई अवरुद्ध गर्ने साथीहरू पनि यही हुनुहुन्छ । उहाँहरू माधवजीलाई देखाएर संसद अवरुद्ध गरिरहनुभएको छ । माधवजी पनि यही हुनुहुन्छ काठमाडौंमै । अनि तपाईंहरू सबै लालझण्डा फहराएर संगठन विस्तारमा लाग्नुभएको छ, अनि फेरि संसद अवरुद्ध गरेर के हुन्छ ?,’ उनले प्रश्न गरे । उनले दलहरूले अब मुलुकको हितमा नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार