काठमाडौँ, पुस । राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताएकी छन । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पौडेलले एउटा पार्टीले मात्रै त्यो प्रतिगमनलाई निस्तेज पार्न नसक्ने बताइन ।
हाम्रो अघिल्तिर प्रतिगमनको खतरा अझै पनि छ, एउटा पार्टीले मात्रै लडेर प्रतिगमनलाई रोक्न सक्दैन, त्यसैले प्रतिगमनका विरुद्ध सबै दलहरू एकताबद्ध भएर त्यसको प्रतिकार गर्नुपर्नेछ ।
उनले भनिन्, जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त अधिकार, संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको छ, हामी दलहरूबीच विभिन्न मतभेद छ, तैपनि हाम्रा यी राजनीतिक उपलब्धिहरूलाई जोगाउनका लागि सबै दलहरूबीच दृढ एकताको आवश्यकता छ।
आज प्रतिगमन चर्कोरुपमा अघि बढिरहेको छ, त्यो प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनले भूमिका खेलेको छ । तर, यतिले मात्रै पुग्दैन, यसलाई अझै अघिसम्म लैजानुपर्ने आवश्यकता छ ।
उनले प्रतिगमनका विरोधीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन् । प्रतिगमनका विरोधीहरू हामी एकताबद्ध भएर जान सकेनौं भने हामीले ठूलो मूल्य चुकाउनुपर्नेछ, इतिहासले हामीलाई माफ गर्ने छैन, उनले भनिन् ।