ढल्केबर, पुस । नेपाली काँग्रेस प्रदेश २ नेतृत्वका लागि अध्यक्षसहित आठ पदाधिकारी र ६४ वटा प्रदेश समितिका सदस्यसहित कुल ७२ वटा पदका १७४ जना चुनावी मैदानमा छन् ।
उम्मेदवारी दर्ता गरेकामध्ये प्रदेश समितिको आदिवासी महिला सदस्यमा मनमाया तामाङनी, सप्तरीबाट सदस्यमा बिमलादेवी साह, महोत्तरीबाट उषा देवकोटा, पर्सा जिल्लाका महिला सदस्यमा किरणकुमारी शर्मा र सप्तरी जिल्लाबाट आशाराम चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिएका छन । ती पदमा एकल उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनमा संस्थापन पक्ष पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षबाट रौतहट जिल्लाका पार्टी सभापति कृष्ण यादव तथा विमलेन्द्र निधिको पक्षबाट नेपाली काँग्रेसका प्रदेश २ का संसदीय दलका नेता एवं प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्यानलमा उम्मेदवारी दिएका छन ।
यसैबीच, मतदान हुने गोपाल धर्मशालास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गोपाल धर्मशाला क्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको उल्लेख्य सङ्ख्यामा परिचालन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।
प्रदेश २ का निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले निर्वाचन समय १ बजेलाई तोकेको भए पनि मतपत्र छापिएर आउनेबित्तिकै मतदान प्रक्रिया सुरु गर्ने जानकारी दिएका छन । छापाखानाले जति छिटो मतपत्र छापेर प्रदान गर्छ, त्यति नै चाँडो मतदानको प्रक्रिया सुरु हुने गौतमले जानकारी दिए ।