काठमाडौं, पुस । निरन्तर संसदकमा अवरोध र एमसीसी पास गर्ने चर्चा चुलिएका बेला सभामुख अग्नि सापकोटा र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भेटवार्ता गरेका छन ।
मंगलबारको प्रतिनिधि सभा बैठक बस्नुअघि सोमबार सभामुख र कानूनमन्त्रीबीच भेटवार्ता भएको हो । भेटवार्तामा के- के कुराकानी भए भन्ने सार्वजनिक भने गरिएको छैन । स्रोतका अनुसार, छलफल भने एमसीसी र संसद सञ्चालनबारे नै छलफल भएको छ । सभामुख सापकोटाको सचिवालयले भने भेट नियमित भएको जनाएको छ ।
कानूनमन्त्रीसँगको भेटपछि सभामुख सापकोटाले आज, मंगलबार, बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्दछ ।
यसअघि गत मंसिर २८ गते पनि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए । सो बैठकले ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरेको थियो ।
मंगलबारको समितिको बैठकमा एमसीसीको एजेण्डाबारे छलफल हुनसक्ने कतिपयको अनुमान छ । तर प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहमति नभएकाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषयबारे छलफल नहुने सभामुख निकट स्रोतले बतायो ।
संसद सचिवालयले सोमबार सार्वजनिक गरेको मंगलबारको सम्भावित कार्यसूचीमा कानुन मन्त्री बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने उल्लेख छ ।