काठमाडौं, पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदका लागि मतगणना भइरहेको छ । २१२० मत गन्दा गगनकुमार थापाको अग्रता फराकिलो हुँदै गएको छ । उनी महामन्त्री हुने लगभग पक्का छ । थापाले अहिलेसम्म १३८५ मत पाएका छन् ।
दोस्रो स्थानका लागि यसअघिसम्म टक्कर परिरहेको भए पनि विश्वप्रकाश शर्मा धेरै अगाडि देखिएका छन् । उनले मतान्तर बढाएका छन् । त्यस्तै प्रदीप पौडेल र डा. प्रकाशशरण महतले पछ्याइरहेका छन् । शर्माले ८५१ मत पाएका छन् । महतले ६९८ मत पाएका छन् । पौडेलले ६२१ मत पाएका छन् । डा. मिनेन्द्र रिजालले ३६५ मत पाएका छन् ।
डा. राजाराम कार्कीले भने ५९ मतमात्र पाएका छन् ।हत र पौडेल सभापति शेरबहादुर देउवा समूहबाट हुन् भने थापा र रिजाल डा. शेखर कोइराला समूहबाट चुनावी मैदानमा छन् । शर्मा प्रकाशमान सिंह समूहबाट लड्दा कार्की विमलेन्द्र निधी समूहबाट उम्मेदवार छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहान ८ बजेदेखि मतगणना हुने जनाएको भए पनि गणकहरुको अभावमा ढिलामात्र मतगणना शुरु भएको हो । समिति सचिव जगन्नाथ श्रेष्ठले साढे १० बजेदेखि महामन्त्रीको मतगणना शुरु भएको जानकारी दिए । निर्वाचन समितिका अर्का सचिव केशव रिजालले गणकको सुत्ने समय नपुगेकाले मतगणनामा ढिलाइ भएको बताएका हुन् ।
उनले भने, मतगणना गर्ने साथीहरु आउनु पर्यो । केही समय सुत्न पनि पर्यो । बिहान ३ बजेसम्म उपसभापतिको मत गनियो । निद्रा नपुगेकाले ढिलाइ भएको हो ।
यसअघि सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । त्यसैगरी प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेका छन् ।