सप्तरी, मङ्सिर । वर्षौंदेखि निर्माणाधीन सप्तरीको सदरमुकाम राजविराजस्थित राजदेवी बसपार्क सम्बद्ध निकायहरूको लापरबाहीले लथालिङ्ग अवस्थामा पुगेको छ । राजविराजस्थित राजदेवी टोलमा व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम हुन सकेको छैन ।
निर्माण कार्य सम्पन्न गर्न तोकिएको समयावधि समाप्त भएको एक वर्ष हुन लागेको छ । अहिले अत्यन्त सुस्त गतिमा बसपार्क निर्माण कार्य भइरहेको छ । निर्माण कार्यलाई सम्पन्न गर्न दबाब दिने उद्देश्यले गठित राजदेवी बसपार्क सङघर्ष समितिले सरोकारवालालाई ज्ञापनपत्र बुझाएको छ ।
स्थानीयले राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवलाई एक ज्ञापनपत्र बुझाउँदै अविलम्ब बसपार्क निर्माण कार्य सम्पन्न नगरिए थप सशक्त आन्दोलन कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।
सहरी विकास मन्त्रालयबाट रु. १६ करोड ३८ लाख ९६ हजार ५१९ मा काम सम्पन्न गर्ने ठेक्का पाएको काठमाडौँको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालिले उक्त बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले २०७७ साल पुस १८ गतेभित्र बसपार्क निर्माण गरिसक्नुपर्ने समय निर्धारण गरिएको थियो । सुस्तगतिमा काम गर्दा म्याद सकिएको सात महिनाभन्दा बढी भइसक्दा पनि ५० प्रतिशत काम मात्र भएको पाइएको छ ।
निर्माण कम्पनीले कहिले कोरोनाको बाहना, निर्माण सामग्रीको अभाव तथा मन्त्रालयबाट समयमै रकम निकासा नपाएको भन्दै आलटाल गरिरहेको राजदेवी टोलका बासिन्दा चन्दन यादवको भनाइ छ ।
बसपार्क समयमा निर्माण नहँुदा यहाँका रूपनी सडक, गजेन्द्रचोक, नेता चोक, कुनौली मोड, राममन्दिर मोड र सखडा रोडलगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुने गरेका छन् ।
राजविराजका नगरप्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीलाई पटक पटक सचेत गराइएको जानकारी दिँदै अब पनि ढिलाइ गरे ठेक्का रद्द प्रक्रिया अघि बढाउन पहल गरिने बताएका छन ।