२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको १४ औं महाधिवेशन : ' उपसभापतिको मतगणना शुरु, महामन्त्रीको भोलि हुने '

बुधवार , मंसिर २९, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनको उपसभापतिको मतगणना शुरु भएको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले साँझ ५ बजेदेखि मतगणना गर्ने निर्णय गरेको भए पनि प्राविधिक पक्ष मिलाउँदा केही ढिलाई भएको हो ।

समितिका सदस्य एगराज पाेखरेलले मतको मुजुल्का गरेर बाकस ल्याएर मतगणना थालिएको बताए ।  यसअघि ४ बजेदेखि मतगणना थाल्ने भनिएको भए पनि तयारी गर्दा थप ढिलाइ भएको थियो ।

मत गनिसक्न चार पाँच घण्टा लाग्ने निर्वाचन समितिका अर्का सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । आज बिहान पार्टी सभापतिको मतगणना सकिएको थियो । आज उपसभापतिको मात्र मतगणना हुनेछ ।

उपसभापतिमा विजयकुमार गच्छदार, सुजाता कोइराला, पूर्णबहादुर खड्का, महेश आचार्य, दिव्येश्वरी शाह, डा. चन्द्र भण्डारी र धनराज गुरुङ्गबीच भिडन्त भइरहेको छ । यीमध्ये दुई जना निर्वाचित हुनेछन् । उपसभापतिको मत पार्टी मुख्यालय वीपीनगरका तीन ठाउँमा गणना भइरहेको हो ।

सचिव रिजालले महामन्त्रीको गणना भोलि मात्र हुने बताए । त्यसपछि सहमहामन्त्रीको गणना भएपछि मात्र केन्द्रीय सदस्यको गणना हुनेछ । यसअघि सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत नल्याएपछि मङ्गलबार पुनः मतदान भएको थियो । दोस्रो चरणमा प्रधानमन्त्री देउवा विजयी भएका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सभापतिमा विजयी देउवाले दुई हजार ७३३ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले एक हजार ८५५ मत प्राप्त गरे ।

दोस्रो चरणको निर्वाचनमा कूल चार हजार ६२३ मत खसेको थियो । जसमध्ये ३५ मत बदर भएको थियो । कांग्रेसको १४औं महाधिवेशनमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका थिए ।

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर २४ गते भृकुटीमण्डपमा भव्य समारोहका बीच कांग्रेसको  १४औँ महाधिवेशन उद्घाटन भएको थियो । मतदानका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार