काठमाडौँ, मङ्सिर । गृहमन्त्री बालकृष्ण खाँण सभापतिका प्रत्याशी नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन। पहिलो चरणमा सभापतिमा कसैले पनि बहुमत पुर्याउने अवस्था नरहेपछि खाँण सिंह निवास पुगेका हुन् सभापतिका प्रत्याशी एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त गर्ने सम्भावना कम हुँदै जाँदा देउवाले सिंहलाई आफ्नो पक्षमा पार्न खाँणलाई चाक्सीबारी पठाएका हुन।
मतगणनाको आधिकारिक रूपमा परिणाम सार्वजनिक गरिएको छैन् देउवाले ८२ भोटले बहुमत पुर्याउन सकेनन् । कुल खसेको ४६७९ मतमध्ये देउवाले २२५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन ।
अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ। यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।
निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ। सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।