काठमाडौं, मंसिर । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दैछन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १२१ सदस्य निर्वाचित हुनेछन् । बिहान ८ बजेदेखि हुने भनिएको मतदान केही ढिला हुने भएको छ ।
यसबीच मतदानस्थलमा विभिन्न उम्मेदवारहरूले आफ्नो प्यानलको सूची बाँडेका छन् । महामन्त्री शशांक कोइराला भने प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुवैको सूचीमा राखिएका छन् । यद्यपि शशांकले भने सभापतिमा शेखरलाई समर्थन गर्ने बताइसकेका छन्
उनले सभापति देउवाले दिएको उपसभापति पदको प्रस्तावसमेत अस्वीकार गरेका थिए । त्यस्तै कोइराला परिवारकै अर्की सदस्य सुजाता कोइरालाले भने प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिएकी छिन् ।
शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।
सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।