२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देउवा टिमकाे उपसभापतिमा गच्छदार र खड्काको नाम टुंगो

शनिवार , मंसिर २५, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन ।

अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम टुंगो लागेको छ । यसैगरी महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलको नाम चर्चामा रहे पनि टुंगिन बाँकी रहेको बताइएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ । हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ । उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय आजै बेलुकी ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन आजै राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय भोलि बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि दिउँसो दिउँसो १२ः१५ बजे र मतदान पर्सी सोमबार बिहान ८ बजेदेखि हुनेछ ।

यस महाधिवेशनमा कांग्रेस नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ कायम रहेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ सङ्घीय निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु चयन भएका हुन् । हिजै महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार