काठमाडौँ, मंसिर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले युवालाई अघि बढाउने बताएका छन् । ‘युवाहरू राजनीतिमा आउनुभएको छ, आउनुपर्छ । तर, पद लिनका लागि मात्रै नहोस्, कम्तीमा युवाको उत्साह युवा जस्तो भएर देखाउनुस् ।
सबै युवाहरूलाई मेरो शुभकामना छ,’ पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘मैले साथीहरूलाई भनिसकेको छु, प्रदीप पौडेल जस्तो युवा मैले भेटेको छु । मैले जुन युवा भेटेँ, मैले उहाँलाई अगाडि बढाउने हो । जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ ।’
उनले महाधिवेशनमा तलदेखि माथिसम्म प्रतिस्पर्धा गरे पनि महाधिवेशनपछि त्यसलाई एकतामा बदल्न सक्नुपर्ने बताए । उनले यही सरकारले आमनिर्वाचन गराउनुपर्ने समेत बताए ।
‘आगामी वैशाखरजेठभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ, हुन्छ । प्रदेश र संघको चुनाव गरेको पनि ५ वर्ष प्रवेश भयो । केन्द्रको पहिले हुन्छ वा स्थानीय तहको हुन्छ, थाहा छैन, तर अब चुनाव हुन्छ,’ सिटौलाले भने, ‘त्यसैले अहिलेको सरकार निर्वाचनसम्म पुगोस्, कम्तीमा निर्वाचन हुन्छ, स्वतन्त्र हुन्छ, निष्पक्ष हुन्छ, धाँधलीरहित तरिकाले सम्पन्न हुन सकोस्, लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धतिको संरक्षणका लागि यो सरकार सफल होस् ।’
नेता सिटौलाले १३ औं महाधिवेशनदेखि अहिलेसम्म आउँदा पार्टीभित्र धेरै उतार चढाव देखिएको भन्दै अब पार्टीलाई अझै बलियो बनाएर लैजानुपर्ने अवस्था आएको बताए । ‘प्रतिस्पर्धाबाट हाम्रो मानसिकता गहिरिएको छ, तर त्यसलाई पुरेर महाधिवेशनपछि पार्टीको एकतालाई कसरी मजबुत गर्ने हामीले सोच्नुपर्ने हुन्छ, प्रतिस्पर्धा गर्दै गर्दा महाधिवेशनपछि हाम्रो पार्टीभित्र सम्पूर्ण एकता आवश्यक छ, त्यो भएन भने हामीले आगामी चुनावमा जित हासिल गर्न सक्दैनौं,’ सिटौलाले भने ।
नेता सिटौलाले अहिले राष्ट्रिय राजनीतिको अवस्था संविधान र लोकतन्त्रमाथि संकटपूर्ण अवस्थामा रहेको बताए । ‘संविधानमाथि चुनौती छ, हाम्रो डेमोक्रेसी संकटमा छ । सरकार, संसद र न्यायपालिकामाथि मेरो धेरै टिप्पणी छैन, तर जसरी चल्नुपर्थ्यो, त्यसरी चलेको छैन,’ उनले भने ।