२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४औँ महाधिवेशन

देशभरका कांग्रेस महाधिवेशन प्रतिनिधि काठमाडौँमा 

शुक्रवार , मंसिर २४, २०७८

 
काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि हुँदैछ । महाधिवेशनको  उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ ।
यस महाधिवेशनमा  देशभरमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् । अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । 
कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाट्नमा रहने उहाँले बताउनुभयो ।
उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरुका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ । 
सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ ।  सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।
महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ । यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । 
महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ । महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार