जनकपुर, मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको हरेक निकायमा दलित समुदायको पहुँच र प्रतिनिधित्व स्थापित गर्नुपर्ने बताएका छन । उनले राज्यको विभेदमा परेका दलित समुदायलाई शिक्षा, अधिकार र पहुँचमा बढाउन आवश्यक रहेको बताए ।
दलित समुदायको वर्तमान अवस्था, समस्या र समाधान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले राजनीतिक परिवर्तनका लागि भएका विभिन्न सङ्घर्षमा दलित समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “भीम राव अम्बेडकर, ज्योतीबा फुलेजस्ता महान् अभियानीहरूको सिद्धान्तलाई आत्मसात् गरी दलित अगुवाहरू अघि बढ्नुपर्छ,” उनले भने ।
“दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक, शिक्षा, स्वास्थ्य र रोजगारमा पहुँच भएमा नेपाल स्वतः समृद्ध हुनेछ,” अध्यक्ष यादवले थपे । उनले दलित समुदायको पेसा, कला र संस्कृतिका साथै पहँुच स्थापित भएमा दलित समुदायका अधिकांश समस्या समाधान भएर जाने बताए ।