२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्लाही : 'काँग्रेस क्षेत्रीय अधिवेशन सुरु '

सोमवार , मंसिर २०, २०७८


सर्लाही, मङ्सिर  । सर्लाहीमा सोमबारबाट नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन सुरु भएको छ । लामो विवादपछि सोमबारबाट क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको हो । जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन सुरु भएको जानकारी दिएका छन । 
क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलबास, क्षेत्र नं. २ को मलङ्गवा, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन प्रारम्भ भएको छ । चारवटै क्षेत्रमा सोमबार उम्मेदवारहरूको मनोनयन दर्ता गरी मङ्गलबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीले बताएका छन ।  
क्षेत्र नं. ३ को अधिवेशन गराउन दोस्रो मतदान अधिकृत खटाइएको छ । माध्यमिक तहका शिक्षकलाई मतदान अधिकृत बनाएर खटाउने निर्णय भए पनि प्राथमिक तहका करार शिक्षक रामखेलाबन साहलाई खटाइएपछि विरोध भएको छ । 
सो क्षेत्रमा सोमबार दिउँसो माध्यमिक शिक्षक नवराज थापालाई दोस्रो मतदान अधिकृतका रूपमा खटाइएको हो । सर्लाहीमा दुई पक्षबीच सहमति जुट्न नसक्दा गाउँपालिका तथा नगरपालिका, प्रदेश र जिल्ला अधिवेशन भने हुन सकेन । 
जिल्ला नै छुट्ने भएपछि अन्य तहको अधिवेशन छाडेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय अधिवेशन गर्न लागिएको हो । क्षेत्रीय अधिवेशनले प्रत्येक क्षेत्रमा एक जना क्षेत्रीय सभापति, दुई जना सचिव, दुई जना सहसचिव र केही महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । 
काँग्रेसको क्षेत्रीय अधिवेशन भइरहेको चारवटै स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । चारवटै स्थानमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् । सर्लाहीको २० वटा पालिकाका २०० वडामध्ये छवटा वडामा अझै नेतृत्व चयन हुनसकेको छैन । बलरा नगरपालिकाको वडा नं. ८ र ९, मलङ्गवा नगरपालिकाको वडा नं. १०, कौडेना गाउँपालिकाको वडा नं. ४, ब्रह्मपुरी गाउँपालिकाको वडा नं. १ र कविलासी नगरपालिकाको वडा नं. ४ मा विवादका कारण वडा नेतृत्व चयन हुन बाँकी छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार