हेटौँडा, मंसिर । नेपाली काँग्रेसको बागमती प्रदेश समितिमा अनपेक्षित परिणाम आएपछि यता संस्थापन पक्ष थप हौसिएको छ । यस प्रदेशको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँले बाजि मारेका छन् । शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधानले ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार भएको पुनः मतदानमा बानियाँ बिजयी भएका हुन् ।
खासमा बागमती प्रदेश संस्थापन इतर पक्षको पकड भनिन्थ्यो । त्यसमा पनि नुवाकोटमा विगत लामो समयसम्म कोइरालाहरुको आशिर्वाद प्राप्त केसी तथा भाइका कारण बागमतीमा उनीहरुका प्रभाव र बर्चस्व रहेको भनिएको थियो ।
त्यसमा पनि अहिले त झन् जगदिश्वरनरसिंह केसी नै सभापतिका उम्मेदवार थिए । तर उनलाई देउवा पक्षका उम्मेदवार इन्द्र बानियाँले पराजित गरिदिए । पहिलो चरणमा निर्वाचित हुन नसके पनि दोस्रो चरणको उनीहरुको प्रतिश्पर्धा थप कडा थियो ।
यो प्रदेशमा संस्थापन पक्ष कसरी विजयी हुनसक्यो भन्ने विषयमा अहिले काँग्रेसभित्र नै खोजीको विषय भएको छ । यसको श्रेय नेपाली कांग्रेसमा देउवा निकट मानिने सहमहामन्त्री डा.प्रकाशशरण महत प्रमुख कारक रहेको काँग्रेसका प्रतिनिधि बताउँछन् ।
उनीहरुका अनुसार यता नुवाकोटमा पनि लामो समयपछि केसी बन्धुहरुलाई पराजय गराउन सफल भएका महतलाई नै सभापति देउवाले यो जिम्मेjfरी दिएर पठाएका थिए । डा महतले आफ्नो जिम्मेबारी पूरा गरेका बागमती प्रदेशका समग्र महाधिवेशन प्रतिनिधिहरुको राय छ ।
डा महत सुरुदेखि नै सभापतिमा इन्द्र बानियाँलाई जिताउनका लागि लागेका हुन् । उनी निकट प्रतिनिधिहरु भन्छन - 'आफूले गरेको परिश्रम अनुसार उनले बानियाँलाई जिताएर संस्थापन पक्षलाई उपलब्धी दिलाएर छोडेका छन् । प्रतिनिधिहरुले भनेका छन्- बास्तवमा बागमती प्रदेशको यो परिणामले अब केन्द्रमा पनि सभापतिमा देउवादाई बिजय गराउन सजिलो भएको छ, कमजोर भनिएको यो प्रदेशको यो परिणामले संस्थापन पक्षलाई निकै ने सकारात्मक सन्देश दिन सफल पनि भएको छ ।'
पौडेल पक्षधर सभापतिका उम्मेदवार बनेका केसीलाई विजय गराउन नेता अर्जुन नरसिंह केसी, युवा नेता गगन थापा तथा सभापति उम्मेदवारका दाबी गरिरहेका नेता प्रकाशमान समेत सक्रिय थिए । गगन थापाले त लाइनमा बसेरै केसीलाई भोट मागेका थिए । बागमती प्रदेशमा खसेको कुल मत २०२६ मध्ये बानियाँले १०८५ मत प्राप्त गरेर विजय हासिल गरेका छन् भने अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् ।