पोखरा, कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक उद्योग सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य भएको बताउनुभयो ।
उत्पादनमूलक उद्योगलाई राज्यले आवश्यक पर्ने सबै सुविधा दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, भन्सार छुट चाहियो कि, विद्युत् वा कर छुट के चाहिन्छ, त्यो तत्काल दिइन्छ । उहाँले उत्पादित बिजुली स्वदेशमै खपत हुने अवस्था सिर्जना गर्नेतर्फ सरकार लागिरहेको दाबी गर्नुभयो ।
हालसम्म ४.७ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु दुःखको विषय भएको स्वीकार्दै उहाँले सार्वजनिक खरिद ऐन संशोधन गरी खर्च बढाउने तयारी भएको जानकारी दिनुभयो । मन्त्रीकै संयोजकत्वमा सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन भएको बताउँदै मन्त्री शर्माले बजारमा देखिएको तरलताको समस्या सल्टाउन शुक्रबार नै २७ वटा वाणिज्य बैंकका कार्यकारी निर्देशकहरूसँग छलफल गरिएको र केही दिनमै तरलताको समस्या समाधान हुने जिकिर गर्नुभयो ।
पोखरा - काठमाडौँको सडक यात्रा दुई घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको बताउँदै उहाँले बाटो छोटिएमा त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान प्रदान गर्ने उल्ले्ख गर्नुभयो । कोभिडले पीडित व्यवसायीको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन थालिएको जानकारी गराउँदै अर्थमन्त्री शर्माले साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया सुरु भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य बाबुराम गिरीले बैंकले नाफामुखी भएर लागू गराएको एकाधिकार तोड्न सरकारले अझ कठोर निर्णय लिनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएका अवरोध हटाउन तथा यहाँबाट हुने उडान सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
बजारमा देखिएको तरलता हटाउन, पर्यटन क्षेत्रले कोभिड विरुद्धको खोप लगाएको सकारात्मक सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्न तथा व्यवसाय पुनरुत्थानका कार्यक्रमलाई तीव्रता दिन उहाँले आग्रह गर्नुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको मारमा परेका व्यवसायी १२ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउँदै तरलताको समस्या छिटो समाधान गर्न माग गर्नुभयो । रासस