बेनी, बैशाख । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निजी क्षेत्रको लगानीमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत १५ दिन सम्म परीक्षणको रुपमा उत्पादन भए पछि व्यावसायिक उत्पादन हुने आयोजनाले जनाएको छ ।
माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिरिट्रीखोला जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो ।
मिरिस्ट्री खोला जलबिद्युत् आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काका अनुसार १४÷१४ मेगावाटका तीनवटै युनिटबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको छ । खड्काले भन्नुभयो ‘मिस्ट्रीखोलाबाट उत्पागित विद्युत् केन्द्रीय प्रणालीमा जोडियो’ ।
‘परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ ।’ परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली आएका थिए । माउन्टेन इनर्जीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ ।
स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना रहेको कम्पनीले दावी गरेको छ । आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।
उक्त आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् ।
२०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।