२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

पोखरा : " आन्तरिक पर्यटकको चहल पहल बढ्दै"

बिहिवार , फाल्गुण १३, २०७७

पोखरा, फागुन ।  आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य पोखरामा पर्यटकको चहलपहल बढेको छ । कोरोना भाइरसका कारण लामो समय ठप्प पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक ह्वात्तै बढेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको सदाबहार चहलपहल हुने पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् ।

पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीयस्थलमा पनि पर्यटक बढेका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भउपछि घुमफिरमा समय दिन थालेका छन् ।

साथै कोरोना खोप लगाउन शुरु भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरु पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो । पोखराका प्रमुख पर्यटकीय गन्तव्य फेवाताल, फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, चमेरे गुफा, पातले छाँगो, विश्व शान्ति स्तूपलगायत स्थलमा घुमफिर गर्नेहरुको सङ्ख्या बढेको छ ।

फेवातालमा डुङ्गामा शयर गर्ने र प्याराग्लाइडिङमा रमाउनेहरु पनि उत्तिकै छन् । देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् ।

बडादशैँपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखेरलले बताउनुभयो । केही तेस्रो मुलक तथा छिमेकी भारतका पर्यटकसमेत अहिले पोखरामा छन् । विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ ।

अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् । पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्तरिक पर्यटन प्रवद्र्धनात्मक कार्र्यक्रम सञ्चालनपछि पोखरामा पर्यटकको चहलपहल बढेको छ । केही समय अझै आन्तरिक पर्यटनमा निर्भर रहनुपर्ने बाध्यता रहेकाले स्वदेशी पर्यटक आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।” प्याराग्लाइडिङ पोखरामा पर्यटकको अर्को आकर्षण हो ।

कोरोनाले ठप्प प्याराग्लाइडिङमा दशैँपछि सहुलियत दरमा व्यवसायीले उडानको व्यवस्था गरेपछि केही साता ठूलो भीड लाग्ने गरेको थियो । अहिले पनि आन्तरिक पर्यटकको आकर्षण प्याराग्लाइडिङमा देखिएको नेपाल हवाई खेलकूद संस्था ९ना०ले जनाएको छ ।

पोखरासँगै आसपासका क्षेत्रमा समेत अहिले आन्तरिक पर्यटक बढेका छन् । अग्ला डाँडामा खुलेका होटल, रेस्टुरेष्ट तथा घरबासमा बस्नेहरुको सङ्ख्या राम्रो रहेको बताइन्छ । पोखराका काहुँडाडाँ, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।

रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार