२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कोरोना सङ्क्रमण : 'आर्थिक गतिविधि सामान्य '

सोमवार , फाल्गुण ३, २०७७

काठमाडौँ, फागुन । कोरोना सङ्क्रमणका कारण कतिपय आर्थिक गतिविधि अझ सामान्य अवस्थामा नफर्किए पनि सरकारी राजस्व सङ्कलनमा भने सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को सात महिना अर्थात् माघसम्म लक्ष्यको करिब आधा राजस्व सङ्कलन भएको छ ।

समीक्षा अवधिसम्म सरकारले चार खर्ब ९८ अर्ब ३८ करोड रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयको तथ्याङ्क छ । यो चालू बजेटले लिएको लक्ष्यको ४९.२६ प्रतिशत हो । बजेटले चालू आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।

सङ्कलित राजस्व गत आवको सामान्य अवस्थाको तुलनामा पनि अझ सुधार हो । गत आवको माघसम्म सरकारले चार खर्ब ९२ अर्ब २८ करोड रुपियाँ सङ्कलन गरेको थियो । जुन लक्ष्यको केवल ४४.२७ प्रतिशत मात्र थियो । चालू आवमा चार खर्ब ५७ अर्ब ९६ करोड रुपियाँ कर राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ५०.१६ प्रतिशत हो ।

त्यस्तै ४० अर्ब ४२ करोड रुपियाँ गैरकर राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । सरकारले यो अवधिमा पाँच अर्ब ३० करोड रुपियाँ अनुदान प्राप्त गरेको छ । त्यस्तै अन्य प्राप्तितर्फ ३२ अर्ब १९ करोड रुपियाँ सरकारी खातामा जम्मा भएको छ । राजस्व, अनुदान र अन्य प्राप्तिसहित माघसम्म सरकारी खातामा पाँच खर्ब ३५ अर्ब ८८ करोड रुपियाँ सङ्कलन भएको छ ।

खर्च भने कमजोर 

राजस्व सङ्कलनमा तुलनात्मक रूपमा सहज अवस्थामा रहेको सरकारले खर्च भने त्यसअनुरूप गर्न सकेको छैन । सरकारको समग्र खर्चस्थिति राजस्वको अवस्थामा कमजोर रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

माघसम्म सरकारी कोषबाट कुल चार खर्ब ९९ अर्ब ५० करोड रुपियाँ खर्च भएको छ । जुन कुल बजेटको केवल ३३.८७ प्रतिशत हुन आउँछ । कुल खर्चमध्ये चालू खर्च चार खर्ब नाघेर लक्ष्यको ४२.८७ प्रतिशत पुगेको छ ।

विकास क्रियाकलापका लागि प्रयोग हुने पुँजीगत खर्च एकदमै कमजोर देखिन्छ । सरकारले अहिलेसम्म पुँजीगत शीर्षकमा ६३ अर्ब तीन करोड रुपियाँ खर्च गरेको छ जुन चालू आवको पुँजीगत खर्च लक्ष्यको केवल १७.८६ प्रतिशत मात्र हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार