काठमाडौं, असाेज । बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले दर्जन बढी शर्त तोकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वाषिर्क साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि, २०७७ जारी गर्दै नयाँ शर्त तोकेको हो ।
वित्तीय प्रणालीमा जोखिमको मात्रा बढ्दै गई भविष्यमा बैंक तथा वित्तीय संस्थाहरुले नोक्सानी व्यहोर्नुपर्ने सम्भावना रहेको तथा कतिपय बैंक तथा वित्तीय संस्थाहरुको जोखिम मूल्याङ्कन एवम् जोखिम न्यूनीकरण, आन्तरिक नियन्त्रण प्रणाली एवम् संस्थागत सुशासनको अवस्था सुदृढ भई नसकेको कारण देखाउँदै राष्ट्र बैंकले शर्तहरु तोकेको छ ।
यसैगरी तरलताको स्थिति सहज हुँदा पनि पुँजीकोष पर्याप्त नरहेको कारणले कर्जा प्रवाह गर्ने क्षमता समेत प्रभावित हुने तथा कतिपय अवस्थामा कर्जा निरन्तर नवीकरण गरी कर्जा वर्गीकरण समेत प्रभावित हुन सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुको पुँजीलाई थप सबल गराई, संस्थालाई बढी सुदृढ गराउने गरी लाभांश स्वीकृत गर्ने प्रयोजनको लागि प्रचलित कानुनको अधिनमा रही देहाय अनुसार गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले बताएको छ ।