काठमाडौं, असाेज । सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको पुष्टि गर्न सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले चुनौती दिएका छन् । रजिष्ट्रार पाण्डेले सन्दर्भ ब्याजदर कार्यान्वयन नभएको भनेर ओठे जवाफ नभई संस्थाको नाम नै भनिदिन आग्रह गरे ।
सन्दर्भ ब्याजदकार विषयमा छलफल गर्न सहकारी पत्रकार समाजले बुधबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कार्यान्वयन नगर्ने जुनसुकै सहकारी संस्थालाई पनि कारबाही गरिने बताए ।
सहकारी संस्थाहरुले गत वर्ष अधिकतम् १६ प्रतिशत मात्रै कर्जामा ब्याजदर लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकेको थियो । आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी विभागले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको भन्दै यो पनि लागू हुने बताए ।
गतवर्ष दुईवटा सहकारी संस्थाहरु कारबाहीको भागेदार भएको भन्दै रजिष्ट्रार पाण्डेले यदि कुनै सहकारी संस्थाले तोकिएको भन्दा बढी ब्याजदर लिए कारबाही गरिने बताए ।
‘म तपाईहरुलाई ठोकुवाका साथ भन्छु, कुनै सहकारीले सन्भर्द ब्याजदर कार्यान्वयन नगरेको भए नाम भन्नुस्’ उनले भने, ‘हामी कारबाही गर्छौ, त्यत्तिकै कार्यान्वयन भएन भन्न मिलेन ।’
पाण्डेले अब विभागले सहकारी संस्थाहरुको अनमुगनलाई पनि तीव्रता दिने बताए । चाँडै उनले टोली गठन गरेर फिल्डमा नै पठाएर अनुगमन गरिने बताए ।
तोकिएभन्दा बढी ब्याज लिने कुनै पनि सहकारीलाई कारबाही गर्नेमा शंका नगर्न रजिष्ट्रारको आग्रह छ ।